प्रधानमन्त्री प्रचण्डले दक्षिण कोरियाको भ्रमण गर्ने

२०८० चैत्र २४ गते, शनिबार


काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले दक्षिण कोरियाको भ्रमण गर्ने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले जुगल हिमालको आरोहण गर्न लागेको नेपाल र दक्षिण कोरियाको संयुक्त टोलीलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरणसहित बिदाई गर्दै सो कुरा बताएका हुन् । उनले राष्ट्रसंघको अधिवेशनको समयमा कोरियाका राष्ट्रपति योन सुक योलसँगको भेटमा दुई देशको सम्बन्धलाई अझ बलियो बनाउने र सहयोगको क्षेत्रलाई अझ विस्तार गर्ने कुरामा छलफल भएको पनि बताए । सोही समयमा दक्षिण कोरियका राष्ट्रपति योलले भ्रमणको निम्तो दिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले निमन्त्रणालाई स्वीकार गरेर कोरिया जाने तयारीमा रहेको बताए ।
उनले दक्षिण कोरिया र नेपालको औपचारिक सम्बन्धको ५० वर्ष पुगेको अवसरमा संयुक्त आरोहणले नेपाल र कोरियाको सम्बन्धलाई अझ सुदृढ बनाउने र पर्यटन प्रवद्र्धनमा पनि ठूलो भूमिका खेल्ने बताए ।
‘केही समय पहिले राष्ट्रसंघको अधिवेशनको बेलामा कोरियाका राष्ट्रपति योन सुक योलसँग पनि छलफल भएर दुई देशको सम्बन्धलाई अझ बलियो बनाउने र सहयोगको क्षेत्रलाई अझ विस्तार गर्नेकुरामा छलफल भएको छ’, उनले सुनाए, ‘उहाँले दक्षिण कोरिया भ्रमणको निम्ता पनि गर्नुभएको छ। सकेसम्म त्यो निमन्त्रणालाई स्वीकारेर कोरिया जाने तयारी गर्दै छौँ।’
प्रधानमन्त्री प्रचण्डले कोरिया र नेपालको सम्बन्धमा नेपालको आर्थिक विकासको निम्ति धेरै क्षेत्रमा सहयोगको अपेक्षा गरेको बताए ।
सिन्धुपाल्चोकस्थित जुगल हिमालको पहिलो आरोहण गर्न तीन नेपाली र सात कोरियाली नागरिक आरोहणका लागि जुगल हिमालतर्फ लागिसकेका छन्।

प्रतिक्रियाहरु