वर्तमान राजनीतिक समस्याको समाधानका लागि नेपाली विशेषताको समाजवाद अनिबार्य

२०८० चैत्र २० गते, मंगलवार

  काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका तथा समाजवादी मोर्चाका संयोजक  बिप्लव सीले  वर्तमान राजनीतिक समस्या  समाधानका लागि  नेपाली विशेषताको समाजवाद अनिबार्य भएको  ठोकुवा गरेका छन् । मंगलबार समाजवादी मोर्चा नेपालले आयोजना गरेको  ‘नेपाली विशेषताको समाजवाद’ बिषयक बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै  उनले सो ठोकुवा गरेका हुन् ।   उनले  दलाल पुँजीवाद अन्त्य नभएसम्म जनताको अधिकार स्थापित हुन नसक्ने उल्लेख गर्दै  अहिलेको व्यवस्थामा प्रधानमन्त्रीले चाहेर काम गर्न नसक्ने प्रणाली रहेकाले विद्यामान कानुन संशोधन गर्नुपर्ने बताए  । 

 संयोजक  बिप्लव सीले  समाजवादी मोर्चाले अस्थिरता ल्याउँछ कि भन्ने कुरा सत्य नभएको बताए ।  उनले  नेपालको विशेषतामा आधारित समाजवाद स्थापना गर्न मोर्चा बनाइएको प्रष्ट्याउदै भने- ‘देशमा संकटमात्र छैन । संकटभित्र सम्भावना पनि छ । संकटबाट सबै खालका समस्याको समाधान निकाल्न पनि सकिन्छ । अहिले दलाल पुँजीवादबिचको टकराब देखिएको छ । अहिलेको व्यवस्थामा प्रधानमन्त्रीले चाहेर काम गर्न नसक्ने प्रणाली रहेकाले विद्यामान कानुन संशोधन गर्नुपर्छ। ’

 संयोजक  बिप्लव सीले गणतन्त्रबाट विभिन्न उपलब्धि प्राप्त भएपछि पूर्ण हुन नसकेको बताए।  उनले  बर्तमान  असन्तुष्टिहरू, समस्याहरूलाई राजनीतिक, आर्थिक, सामाजिक कुरालाई अग्रगामी ढङ्गले समाधान गर्न समाजवादी मोर्चाले भूमिका खेल्ने बताउदै भने-  ‘हामीले विभिन्न उपलब्धि हासिल गरेको कुरा साँचो हो तर पूर्ण भएका छैनन् । पूर्ण नहुनुको अर्थ यो पनि हो की मानव जाति चुप लागेर कोही बस्दैनन् । श्रमिकहरू, उत्पीडितहरू, अधिकारको खोजी गर्ने शक्तिहरू कोही पनि चुप लागेर बस्दैनन् । प्रवृत्तिहरू बिचको टकराब हुनु स्वाभाविक हो । हामी समाजवादीहरू, कम्युनिस्टहरू, कतातिरबाट अघि बढ्ने, कुन धारलाई हामीले जनताको बिचमा स्थापित गर्ने ? जनतालाई कसरी सुरक्षित गर्ने ? यो विषयमा हाम्रो समाजवादी मोर्चाले एउटा स्पष्ट दृष्टिकोण दिएको छ की आजका सबै समस्याको समाधान नेपाली विशेषताको समाजवादबाट मात्रै सम्भव छ । यसको मतलब आजकोलाई भत्काएर फाल्ने भनेको होइन, यहाँ केही बाहिर भाष्यहरू गलत ढङ्गबाट आइरहेका छन् । त्यसले अस्थिरता ल्याउँछ । समाजवादी मोर्चाले अस्थिरता ल्याउँछ की भन्ने आदि इत्यादिका तर्कहरू पनि हामी सुन्ने गर्दछौँ । होइन त्यो कुरा । अस्थिरतालाई स्थिरतातिर बदल्ने कुरा हामी गर्छौँ । आज भइरहेका असन्तुष्टिहरू, समस्याहरूलाई राजनीतिक, आर्थिक, सामाजिक कुरालाई अग्रगामी ढङ्गले समाधान दिने कुरा हो ।’

संयोजक विप्लव सीले साम्राज्यवादले शान्तिको गुलियो नाराभित्र बम बोकेर हिडिरहेको ठोकुवा गरे । उनले दुई ध्रुबमा विभाजित आजको विश्वमा भुमन्डलीकृत साम्राज्यवादले विश्व शान्ती र समृद्धिको नाराभित्र समाजवादीहरुलाई परास्त पार्न बम बोकेर हिडिरहेको बताउदै भने- ‘अहिले विश्व विशाल दुई धुर्वमा विभाजित छ, एउटा समाजवादी ध्रुब र अर्को साम्राज्यवादी ध्रुब । यसमध्य साम्राज्यवादी धुर्वले आफ्नो मरणासन्न दलाल प्रवृत्तिलाई बचाएर समाजवादी धुर्व परास्त पार्न चाहन्छ । त्यसैको उपज अहिलेको भुमन्डलीकृत विश्वलाई लिन सकिन्छ र नेपालमा उसले बढाएको हस्ताक्षेपबाट सहजै अनुमान गर्न सकिन्छ । जो एमसीसीको नाममा व्यक्त भएको छ ।’
संयोजक विप्लव सीले साम्रज्यवादले नेपालको सार्वभौमिकता र अखण्डतामा गम्भीर खतरा निम्त्याएको भन्दै त्यसैलाइ मध्यनजर गरी नेपालमा देखिएको अर्थराजनितिक अन्तर्बिरोधको उपजका रुपमा समाजवादी मोर्चालाई लिन सकिने बताए। उनले परास्त भैसकेका शक्तिहरु सलबलाउन थालेकोको बताउदै भने-‘जनताको त्याग र बलिदानबाट स्थापित लोकतान्त्रिक गणतन्त्र पनि क्रान्तिको उपल्ब्धी हो तर त्यसैलाई मास्न साम्राज्यवादी शक्तिहरु लागि परेका छन् । त्यसको रक्षा गर्नु पनि यो मोर्चाको दायित्व हो । तर त्यतिमात्रैले पुग्दैन । आजको आर्थिक, राजनितिक, सास्कृतिक सबै समस्याको समाधान भनेको नेपाली विशेषताको समाजवाद हो ।’
संयोजक विप्लव सीले समाजवादी मोर्चा नेपाली विशेषताको समाजवाद प्राप्तीका लागि जन्मिएको बताए । उनले नेपालका युवालाई निराश बनाउन साम्राज्यवाद लागिपरेको बताउँदै यसलाई रोक्न र नेपाली विशेषताको समाजवादी ल्याउन मोर्चा बनेको ठोकुवा गरे । उनले भने – ‘यसको समाधान मान्छेले मात्र होइन सिस्टमले गर्नु पर्छ। यो राज्य जनताको राज्यमा रुपान्तरण भैसकेको छैन । त्यसका लागि पनि जनतालाइ आसा जगाएर अर्को अन्दोलनको विकल्प खोज्नु पर्छ।’

यसैगरी , सोही कार्यक्रममा सम्बोधन गर्दै  माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले वर्तमान संविधान सबै किसिमले पूर्ण नरहेको बताए । उनले अहिलेको संविधान सम्झौताकै दस्ताबेज भएकाले पूर्ण नरहेको बताउदै भने – ‘संविधानको पनि यहाँ धेरै कुराहरु भए । यो बनेको संविधान पूर्ण छ भनेर हामीले कहिले पनि भनेका छैनौँ । यो सम्झौताकै दस्ताबेज हो । त्यहाँ थुप्रै पुँजीवादका विशेषताहरु पनि छन् ।’
प्रधानमन्त्री प्रचण्डले अहिले आफूले नयाँ सत्ता समीकरण बनाएको उद्देश्य प्रधानमन्त्री बन्नका लागि नभएको उल्लेख गर्दै समाजवादको आधार तयार पार्ने उद्देश्यप्रति इमान्दार भइ र नेपालको राष्ट्रिय स्वाधिनतालाई सुदृढ गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गरेर नयाँ समीकरण बनाएको बताए ।
प्रधानमन्त्री प्रचण्डले भने- ‘मैले अहिले जुन कदम चालेको छु, त्यो प्रधानमन्त्री पदको लागि बिल्कुल होइन । यो कुरा सबैले बुझ्ने नै कुरा छ । यो समाजवादको आधार तयार पार्ने उद्देश्यप्रति इमान्दार भएर नेपालको राष्ट्रिय स्वाधिनतालाई सुदृढ गर्नुपर्ने आवश्यकताप्रति इमान्दार भएर केही जोखिम, केही चुनौति देख्दा-देख्दै पनि चालिएको कदम हो ।’
प्रधानमन्त्री प्रचण्डले समाजवादी धारा र प्रवृत्तिका पार्टीहरुले जित्दै जाँदा संविधान समाजवादतिर अझ अग्रसर हुँदै जन सकिने बताए । उनले पुँजीवादी र प्रतिक्रियावादीहरुले जित्दै गए संविधान अझ प्रतिगामी हुँदै जाने खतरा रहेको बताउदै भने- ‘पुँजीवादी र प्रतिक्रियावादीहरुले जित्दै गए भने यो संविधान अझ प्रतिगामी हुँदै जाने खतरा पनि छ । हाम्रो जिम्मेवारी छ की, यो संविधानलाई बढी भन्दा बढी प्रगतिशिल धारातिर अघि बढाउनका लागि हामीले आपसी एकतालाई सुदृढ गर्दै इतिहासका अनुभवबाट शिक्षा लिँदै अघि जान जरुरी छ ।’
प्रधानमन्त्री प्रचण्डले संविधानलाई बढी भन्दा बढी प्रगतिशिल धारातिर अघि बढाउनका लागि आपसी एकतालाई सुदृढ गर्दै इतिहासका अनुभवबाट शिक्षा लिँदै अघि जान जरुरी रहेको बताए । उनले नेपालका समाजवादी, देशभक्त र राष्ट्रवादीहरु एक ठाउँमा केन्द्रित हुने हो भने समाजवादलाई तीब्र गतिमा अघि बढाउन सकिने विश्वास व्यक्त गरे ।उनले भने, ‘नेपाल मात्रै त्यस्तो परिस्थितिमा छ, यहाँका समाजवादीहरु, देशभक्तहरु राष्ट्रवादीहरु एक ठाउँमा केन्द्रित हुने हो भने समाजवादलाई तीव्र गतिमा अघि बढाउन सकिन्छ ।’
प्रधानमन्त्री प्रचण्डले आफूले केही जोखिम मोलेर भएपनि देशभक्त वामपन्थीहरुलाई एकतामा ल्याउने जमर्को गरेको उल्लेख गर्दै समाजवादको जन्म अन्ततः सडकबाटै भएको बताए ।

यसैगरी , सोही कार्यक्रममा सम्बोधन गर्दै  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताबाट अलग भएपनि समाजवाद आउन नसक्ने र समाजवादी पार्टीहरुको पनि बिजोग हुने बताए  ।   उनले भ्रष्टाचार नरोक्ने, जनताका कुरा नसुन्ने हो भने समाजवाद आउन नसक्ने बताउदै भने- ‘जनताबाट जब हामी अलग हुन्छौँ, अलग भइसकेपछि समाजवादको बेहाल हुन्छ । समाजवादी पार्टीहरूको बिजोग हुन्छ । विभिन्न देशहरूको अनुभवले बताएको छ, धेरै टाढा जानै पर्दैन हाम्रो छिमेकी देश भारतको एउटा प्रान्त पश्चिम बंगाल । हिजो कसैले फर्केर हेर्न सक्दैनथ्यो त्यहाँ जितौँला भनेर । आज त्यहाँ कम्युनिस्ट पार्टी खोज्न टर्च बाल्नुपर्ने अवस्था रहेको छ । यो आत्मसमिक्षा गर्ने कुरा छ ।’

अध्यक्ष  नेपालले   समाजवादका ठुला ठुला कुरा गरेर नहुने बताउँदै जनताको पीडा, बेदनासँग जोडिएका छौँ कि छैनौँ भन्दै   समाजको गरिबी, अभाव र पछौटेपनले नेताहरुलाई पोल्छ कि पोल्दैन ? भन्दै   प्रश्न गरे । उनले भने- ‘समाजमा विद्यमान अन्याय, अत्याचार, थिचोमिचो, भेदभाव र छुवाछुत त्यसले हामीलाई पिरोल्छ कि पिरोल्दैन ? एउटा मैले भिडियो देखेको थिएँ, त्यसमा लेखिएको थियो, रौतहट गौरको घटना भनेर, थाहा छैन कहाँको घटना थियो । त्यहाँ दलितका ३ वटा बच्चालाई पछाडि हात बाँधेको छ । एउटा ठुलो जातीको मान्छेले उसलाई लठ्ठीले उसलाई हिर्काइरहेको छ । बच्चा कराइरहेको छ । वरिपरि सिंगै दलित वस्तिलाई बोलाइएको छ । सम्रान्त वर्गको मान्छेले कुटिरहेको छ, अरू चुपचाप थिए । मैले त्यहाँको एसपीलाई फोन गरेर घटनाको छानबिन गर्न भनेँ ।’

अध्यक्ष  नेपालले   देशका प्रत्येक गाउँमा कम्युनिस्ट पार्टीका संगठन र कार्यकर्ता रहेको भन्दै ती कार्यकर्ताले कस्तो काम गरिरहेका छन्, पार्टीहरूले हेर्नुपर्ने बताए । उनले जनतासँग जोडिनुपर्ने, बस्तीमा नेताहरू जानुपर्ने र बस्तीमा गएमा चुनावमा गएर शासन सत्तामा जानुपर्ने बताए । बस्तिका जनतालाई चेतनशील बनाउने काम राजनीतिक दलको भए उल्लेख गरे । यसका लागि राजनीतिक दलहरू गम्भीर छन् त भन्दै उनले प्रश्न गरे ।

अध्यक्ष नेपालले भने- ‘कम्युनिस्ट पार्टीभित्रको भ्रष्टीकरणलाई हामीले रोक्न सकेका छौँ त ? कार्यकर्ताहरूमा व्यक्तिवाद चरम रूपमा बढेको रोक्न सकेका छौँ ? मैले के पाएँ भन्ने प्रवृत्तिलाई रोक्न सकेका छौँ । कार्यकर्तालाई रुपान्तिरित गर्न सकेका छौँ ? जनताको रूपान्तरण टाढाको कुरा हो, अहिले जनताको अगुवा भनिएका कार्यकर्ताहरू तिनीहरूको आचरण र शैली कस्ता छन् ? उनीहरूका संस्कारहरू कस्ता छन्, हाम्रो समाजमा छाउपडी प्रथा छ, बोक्सी भनेर महिलाहरूलाई यातना दिने गरिन्छ । धेरै गरिबका छोराहरू अहिलेपनि पढ्न जान सक्दैनन्, भ्रष्टाचार व्याप्त छ, यस्ता कुराहरूलाई हामी चुनौतीका रूपमा लिन्छौँ कि लिँदैनौँ ?’

अध्यक्ष नेपालले समाजवादी मोर्चाले सरकारले गरेको राम्रो कामलाई प्रशंसा गर्नुपर्ने र नराम्रो काम गरेको छ भने ध्यान दिनुस् भनेर पनि भन्नुपर्ने बताए ।

यसैगरी , सोही कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री झलनाथ खनालले बालुवाटारबाट जनताको समाजवाद नआउने बताए  । उनले सरकार, संसद् र सडक मोर्चाबाट आन्दोलन गर्नुपर्ने धारणा राखे । खनालले   पछिल्लो समय वामपन्थी शक्तिहरू एक ठाउँमा आउने वातावरण बनेको बताउदै भने- ‘पछिल्लो समय वामपन्थी शक्तिहरू निकट आउने वातावरण बनेको छ, त्यसमा खुसी लागेको छ । अब नीति, कार्यक्रम, संगठन, अभियान र वर्गसंघर्षमा निकटता बढाउ’, खनालले भने, ‘बालुवाटारबाट समाजवाद आउँदैन । सत्ता, संसद् र सडक संघर्ष गरौँ । वामपन्थीले प्रगतिशील नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्छ ।’

खनालले  वामपन्थी शक्तिहरूले राम्रो काम गर्न सके घृणा होइन जनताले फूलमाला लगाएर सम्मान गर्ने बताउदै वामपन्थी आन्दोलनकै कारण देश यहाँसम्म आएको दाबी गरे ।

यसैगरी , सोही कार्यक्रममा सम्बोधन गर्दै  उपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादको संसारमा कुनै एउटा मोडालिटी नभएकोले त्यसलाई कपी गरेर अर्को देशमा लागू गर्न सक्ने अवस्था नभएको बताए  ।  उनले नेपालमा उदारवादी लोकतान्त्रिक गणतन्त्र पुँजीवादी व्यवस्था जस्तै अगाडि बढिरहेको बताउदै भने- ‘यसको अभ्यासबाट, अहिलेको संविधानको अभ्यासबाट उदारवादी गणतन्त्र त अगाडि बढ्ला तर समाजवादको स्थापना हुन सक्दैन । अहिलेको संवैधानिक, राजनीतिक प्रणालीमै आमूल परिवर्तन नगरीकन समाजवाद हैन विकृत पुँजीवादतर्फ हामी जान्छौँ । त्यसकारण त्यहाँ परिवर्तन गर्नुपर्छ । हाम्रो समाज वर्ग विशेष मात्र हैन, जाती विशेष समाज पनि हो । मार्क्सले वर्ग विशेषका आधारमा समाजवाद ल्याउने सपना देखे र संसारभर पुँजीवादका विरुद्धमा मजदुर र सर्वहाराबाट क्रान्ति भए । तर हाम्रो समाजमा वर्गपनि छ र जातपनि छ । त्यहाँ वर्गीय उत्पीडन थियो हाम्रो समाजमा जातपनि छ, जातीयतापनि छ, जुन वर्णव्यवस्थादेखि हुर्कँदै आएको हो । सबै शक्तिको नेतृत्वमा एउटा जाती रहने र अरू जातहरू अछुत अपहेलित, सहभागिता नहुने, शक्तिको बाँडफाँडमा नहुने अवस्था छ । विकासका लागि उ अगाडि बढ्न नपाउने अवस्थाको अन्त्य नगरीकन समाजवादको कल्पना गर्न सकिँदैन ।’

अध्यक्ष उपेन्द्र यादवले यूरोपबाट माक्सवादी समाजवाद अन्त्य भइसकेको बताउदै भारतमा भीम राव लोहियाले समाजवादका लागि लोकतन्त्र र स्वतन्त्रता हुनुपर्ने बताएको र समानता, लोकतन्त्रसँगै सामाजिक न्यायबिना समाजवाद नबन्ने बताएको उल्लेख गरे ।  उनले स्रोत र साधन, अवसरको वितरण न्यायपूर्ण भएन भने सामाजिक न्याय हुँदैन, न्याय, स्वतन्त्रता र समानता भएन भने समाजवाद कल्पना गर्न नसकिने उल्लेख गरे । सामाजिक असमानता, अन्याय, जात, लिङ्को बीचमा आधार रहेको, बहुराष्ट्रियता भएको, सहभागिता र उनीहरूको पहिचानलाई चिनेर त्यहाँ राज्यद्वारा सैकरोडौँ वर्षमा सिर्जना गरिएका विभेदलाई उखेलेर नफालेसम्म कस्तो खालको समाजवाद हुन्छ भन्दै उनले प्रश्न गरे ।

अध्यक्ष यादवले अहिलेको संविधान समाजवादउन्मुख लेखिएको भए पनि संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक रहेको जिकिर गरे । उनले अहिलेको शासकीय स्वरूपबाट समाजवाद सम्भव नरहेको बताए । उनले अहिलेको तमासाबाट समाजवाद आउनेवाला नरहेको बताउदै  भने- ‘सुशासन ल्याउने प्रयासमा अहिले सरकार त लागेको छ, कहाँसम्म पुगिन्छ । अहिलेको संविधान समाजवादउन्मुख लेखिएको भए पनि अहिलेको संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक छ । पूरै बाधक छ । यसलाई संशोधन गरौँ । अहिलेको शासकीय स्वरूपबाट समाजवाद हुनै सक्दैन । हेरिराख्नुभएको छ, तमासा त भइरहेको छ, हामी गरिरहेका छौँ । यो तमासाबाट समाजवाद हुनेवाला छैन । यो शासकीय स्वरूप बदल्नुपर्छ । यो निर्वाचन प्रणालीले पनि जहाँ करोडौँ, करोड एउटा उम्मेदवारले खर्च गरेर संसद्मा पुग्छ । यसबाट समाजवादको आशा गर्न सकिँदैन । निर्वाचन प्रणाली बदल्नैपर्छ । शासकीय स्वरूप बदल्नुपर्छ र लोकतन्त्रलाई समावेशी,  समानुपातिक लोकतन्त्रलाई रुपान्तरित गर्नुपर्छ । संविधान परिवर्तन नगरीकन उन्मुख लेखेर मात्रै उन्मुख हुँदैन । संविधानमा समाजवादउन्मुख छ, हाम्रो यता पुँजीवादीतिर उन्मुख छ । अहिलेको नेपालको सङ्घीयता भनेको सङ्घीयता जस्तो भएको छ, तर कुरूप नै अपाङ्ग भएको छ । त्यस्तो अवस्थाको सङ्घीयताले सङ्घीयतालाई दुरुस्त बनाउनमा अहिलेको संविधान संशोधन र परिवर्तन नभई हुँदैन ।’

यसैगरी , सोही कार्यक्रममा सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता एकराज भण्डारीले संविधान संशोधन गरी समाजवादी व्यवस्था लागू  गर्न समाजवादी मोर्चाका नेताहरूलाई सुझाब दिए  ।  उनले  अदृश्य शक्तिका कारण संविधान संशोधन गर्न नसक्ने दाबी बताए।  उनले   १६ वर्षसम्म संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट पारित गर्न कसले रोक्यो भन्ने  प्रश्न गर्दै भने-  ‘सत्य निरुपणसम्बन्धी विधेयक एक वर्षदेखि संसदमा रोकिएको छ । १६ वर्ष वित्यो विधेयक पारित गर्न कसले रोक्यो ? सबैले पास गर्छु भन्छन् । तर अहिलेसम्म पास भएको छैन । अदृश्य शक्तिले रोक्यो ? यो संसदीय शासन प्रणालीलाई संशोधन गरी समाजवादी व्यवस्था लागु गर्न सक्नुहुन्छ ?’, उनले नेताहरूमाथि प्रश्न उठाउँदै भने, ‘अदृश्य शक्तिबाट त्यसो गर्न सक्नुहुन्न भने सत्ता छोडेर सडकमा आउनुहोस् । सारंगी र्‍याइँर्‍याइँ गरेर काम छैन ।’

भण्डारीले  कानुन नमान्ने संसद्, सरकार, संवैधानिक अंग रहेका आरोप लगाउँदै यही संसदीय व्यवस्थाबाट समाजवाद नआउने बताए । उनले  शान्ति प्रक्रियामा आएपछि माओवादी नेताहरू बिग्रिएकाले सत्तालाई केन्द्रमा राखेर आगामी निर्वाचनमा भोट माग्न नआउन  चेतावनी दिए ।

यसैगरी , सोही कार्यक्रममा सम्बोधन गर्दै अर्थविद् दीपेन्द्रबहादुर क्षेत्रीले विभिन्न देशहरूले लिने समाजवादको उद्देश्य एउटै भए पनि त्यसको मोडल भने फरक भएको बताए  ।  क्षेत्रीले समाजवाद ल्याउनका लागि निरन्तर लाग्नुपर्नेमा जोड  दिंदै  भने–‘पुँजीवादको आफ्नै चरित्रका कारण यो भत्किन्छ र समाजवाद आउँछ भनेर एउटा कुनामा बसेर, गाँजा खाएर बसेर मात्र समाजवाद आउँछ भन्ने हुँदैन । निरन्तर रूपमा त्यसलाई अभियानका रूपमा लैजानुपर्छ । क्रान्ति निरन्तर अघि बढ्छ भन्ने कुरा पनि समाजमा छ ।’

क्षेत्रीले सबै मुलुकमा समाजवादको उद्देश्य एउटै हुने उनले बताए । प्रत्येक देशहरूले आफ्नो आफ्नो विशेषता अनुसार समाजवाद प्राप्तिको लक्ष्य लिनुपर्नेमा क्षेत्रीले जोड दिंदै  भने–‘हाम्रो छिमेकी देश चीनमा आफ्नै किसिमको समाजवाद, उत्तर कोरियामा छुट्टै छ । त्यहाँ मजदुरहरूको नेतृत्वमा छुट्टै एकल शासन छ । त्यहाँ नेतृत्वले चाहेको कुरा तुरुन्तै लागू हुने अवस्था हुन्छ । तर हाम्रोमा भने बहुव्यवस्था अन्तर्गतको राजनीति भइरहेको हुनाले सजिलो छैन होला तर निरन्तर त्यतातिर ध्यान दिइनुपर्दछ ।’

क्षेत्रीले उत्पादन र उत्पादन सम्बन्ध समाजवादको कडी भएको   बताए । उनले के उत्पादन गर्ने र उत्पादन गरिसकेपछि त्यो कसको हितमा प्रयोग गर्ने भन्ने कुरा राम्रोसँग अगाडि ल्याउन सकिएन भने अलमलिने बताए ।

यसैगरी , सोही कार्यक्रममा सम्बोधन गर्दै  नेकपा(एमाले)का विदेश विभाग प्रमुख डा.राजन भट्टराईले समाजवादी शक्तिबिच एकता नहुँदा प्राप्त उपलब्धि समाप्त पार्न हिजोका पराजित शक्तिहरूले टाउको उठाउन थालेको बताए । उनले ती शक्तिहरूलाई परास्त गर्न समाजवादी शक्तिहरू एक हुनुपर्ने बताए । 

भट्टराईले समाजवादी जनमत दक्षिण एसियामै ठुलो जनमत भएपनि विभाजित हुँदा अन्यले खेल्ने अवसर पाएको बताउदै भने- ‘समाजवादी शक्तिहरू विभाजित हुँदा पराजित भएका व्यवस्था विरोधी शक्तिहरूले टाउको उठाउन खोजिरहेका छन् । ती शक्तिलाई पराजित गर्न समाजवादी शक्तिहरूबिच एकता आवश्यकता छ। स्वार्थ त्यागेर समाजवादको लक्ष्य प्राप्तिका लागि म सम्पूर्ण समाजवादी शक्तिहरूलाई आग्रह गर्न चाहन्छु । मिलेर नै हामी अगाडि बढ्नुको विकल्प छैन ।’

 भट्टराईले नेपालको विशेषतामा आधारित समाजवादको लक्ष्य प्राप्तिका लागि उत्पादन, आर्थिक गतिविधिसहितको कार्यक्रममा स्पष्ट हुनुपर्ने बताए  ।

प्रतिक्रियाहरु