‘क्रान्तिको झण्डालाई कहिल्यै झुक्न दिदैनौं ‘

२०८० चैत्र १९ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले क्रान्तिको झण्डालाई कहिल्यै झुक्न नदिने उदघोष गरेका छन् । सो पार्टीद्वारा सोमबार आयोजित शहीद गाथा ‘राष्ट्रको लागि बलिदान’ लोकार्पण तथा शहीद परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सो उदघोष गरेका हुन्। महासचिव विप्लव सी ले कम्युनिस्ट पार्टीको झण्डालाई आफूहरुले माथि उठाउने उदघोष गर्दै साम्यवाद प्राप्त नहुञ्जेलसम्म कम्युनिस्ट पार्टीको झण्डालाई निरन्तर उठाइरहने बताए । उनले नेपालमा राजनीतिक दलहरुको अनुशासन लागू गर्ने समय नभएको उल्लेख गर्दै कुनै पार्टीको अनुशासनले अब कसैलाई नछेक्ने बताए ।
महासचिव विप्लव सी ले पुरानो तरिकाको पार्टीको आदेशले राजनीति नचल्ने भन्दै जनताले नयाँ चिज खोजिरहेको र जनतालाई नयाँ चिज दिन आँट गर्नुपर्ने बताए । उनले एक्लै-एक्लै बसेर शक्तिको दाबी गरेर हिँड्ने समय पनि नभएको भन्दै एकतावद्ध भएर देशलाई रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए ।


महासचिव विप्लव सी ले आफूहरुले जनताको सेवक बनेर काम गर्ने दृढता व्यक्त गर्दै चुनाव बाहिर बसेर पनि निरन्तर जनताको सेवा गर्न सकिने बताए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै सहिद परिवार समाज नेपालकी अध्यक्ष खुमा सुवेदीले सहिदको रगत र उनीहरुका परिवारका आशुलाई उर्जामा बदलेर नै सहिदका सपना पूरा गर्न सकिने उल्लेख गर्दै सहिद परिवारले आफ्ना अभिभावक मात्रै खोजेका छैनन् उनीहरुको बलिदान र रगतको मूल्य खोजिरहेको बताइन् ।
यसैगरी, सोही कार्यक्रमलाई सम्बोधन गर्दै सहिद प्रज्वल शाहीकि बहिनी कलसाले सहिदहरु नै क्रान्ति र परिवर्तनका मार्गदर्शक भएको र लखन थापा , गङ्गालाल श्रेष्ठ देखि एकीकृत जनक्रान्तिका सहिदको बलिदानले अहिलेको पुस्ताले स्वतन्त्रता प्राप्त गरेकोले यसलाई अगाडि बढ्ने उर्जाको रूपमा लिनुपर्ने धारणा राखेकी थिइन् ।
यसैगरी, सोही कार्यक्रमलाई सम्बोधन गर्दै निरकुमारकी जीवनसाथी/ सहिदपत्नी इन्द्रकला राईले पार्टी , पार्टीका नेताकार्यकर्ताले सहिदको बलिदान किन भयो, कसरी भयो भन्ने कुराको महत्त्वबोध गर्दै निरन्तर लक्ष्यमा लाग्नु पर्ने र आफुहरु देश र नागरिकको हितमा काम गर्नेहरुलाई साथ दिन तयार रहेको बताएकी थिइन् ।
यसैगरी, सोही कार्यक्रमलाई सम्बोधन गर्दै वेपत्ता परिवार समाजका अध्यक्ष एकराज भण्डारीले सहिद गाथामा आधारित वलिदान नामक पुस्तकका अधिकाङ्श सामग्रीमा सहिद महान छन, उनीहरुको सपना पूरा गर्नेछौं,त्यसका लागि क्रान्तिको बाटोमा निरन्तर अघि बढ्छौ भन्ने साझा निष्कर्ष रहेको बताए।मन्तव्यको क्रममा बरिस्ठ अधिबक्ता समेत रहेका भण्डारीले सहिद तथा वेपत्ता परिवारले नयाँ उर्जा र प्रतिबद्धताका साथ उनीहरुको सपना पूरा गर्ने अभियानमा योगदान पुर्‍याउनुपर्ने बताए ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै घाइते योद्दा सुरेन्द्र महर्जनले आफ्नो अनुभुति व्यक्त गर्दै क्रान्ति जहिल्यै सोझो रेखामा होईन,दायाँ बायाँ र बक्र रेखामा अगाडि बढ्छ,यो स्वभाबिक छ, हामी क्रान्तिको निरन्तर यात्रामा छौं ,समय र परिस्थिति अनुसार विभिन्न परिवर्तनकारी शक्तिलाई एकताबद्ध गर्दै क्रान्तिका बाकी कार्यभार पुरा गरेर नै घाइतेहरुको सम्मान र सहिद तथा वेपत्ताहरुको सपना साकार हुने बताए।


नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा जनप्रचार तथा प्रकाशन विभागका इञ्चार्ज अनिल सीले संचालन गरेको उक्त कार्यक्रममा एकीकृत जनक्रान्तिका सहिदहरुकाे जीवनी सहिद गाथा ‘राष्ट्रका लागि बलिदान’ को लोकार्पण र सहिद परिवारलाई सम्मान गरिएको थियो।

प्रतिक्रियाहरु