‘क्रान्तिकारी ध्रुविकरण र एकताले मात्र कम्युनिस्ट सत्ता ल्याउन सकिन्छ’

२०८० चैत्र ६ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज विन्दु सीले क्रान्तिकारी ध्रुविकरण र एकताले मात्र कम्युनिस्ट सत्ता ल्याउन सकिने बताएकी छन। नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) द्वारा काभ्रेको अनेकोटमा २६ औ साँस्कृतिक प्रतिरोध दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन्। नेता विन्दु सीले वर्तमान पुँजीवादी संसदीय ब्यवस्थाले देश र जनताको हित गर्न नसक्ने ठोकुवा गर्दै जनताको ब्यवस्था समाजवाद, साम्यवाद स्थापना गर्न अनिवार्य भएको बताइन । उनले सरकारले राष्ट्रघाति एमसीसी जस्ता संझौता गरेर नेपालको राष्ट्रिय स्वाधीनताको खिल्ली उडाएको उल्लेख गर्दै समाजवादी मोर्चामार्फत सवै कम्युनिस्ट र समाजवादी शक्तिहरुलाई गोलवन्द गर्न जरुरी भएको बताइन ।


यसैगरी, उक्त कार्यक्रमलाई समोधन गर्दै संस्कृति, पर्यटन नागरिक उड्यन मन्त्री हितबहादुर तामाङले शहिदहरुको बलिदानले मुलुकमा संघीय गणतन्त्र स्थापना भएको उल्लेख गर्दै अझै अगाडि बढेर कम्युनिस्ट ब्यवस्था स्थापना गर्दै समाजवाद, साम्यवादसम्मको लक्ष्यमा पुग्नु पर्ने बताए । उनले भने- ‘सहिदहरुको सपना अझै अधुरो छ, सहिदहरुको समनालाई पुरागर्न हामी अझै लाग्नु पर्दछ । ‘


उक्त कार्यक्रमको अध्यक्षता आईतराम तामाङ र धन्यवाद मन्तव्य वडाअध्यक्ष जयबहादुर तामाङले राखेका थिए । कार्यक्रमा शहिद परिवारलाई सम्मान, शहिदहरुको सालिकमा माल्यापण, तथा शहिदहरुप्रति श्रद्धान्जली अर्पण गरिएको थियो ।

प्रतिक्रियाहरु