युक्रेनी सेनाद्वारा ५ जना नेपाली युद्धबन्दी सार्वजनिक

२०८० चैत्र ५ गते, सोमबार


काठमाडौँ । युक्रेनी सेनाले रसियासँगको युद्धका क्रममा बन्दी बनाइएका ५ जना नेपालीसहित ८ जनाई विदेशी सैनिकलाई सार्वजनिक गरेको छ । युक्रेनी सेनाले हाल दाङको बिजौरीमा बस्दै आएका रोल्पाका प्रतीक पुनसहित ५ जना नेपालीलाई सार्वजनिक गरेको हो । युक्रेनमा हाल राजापुर नगरपालिका-१ बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ-२ का विकास राई, दाङका प्रतीक पुन, खैरहनी चितवनका सुजन सुवेदी र गोरखाका ईश्वर लामिछाने बन्दी जीवन बिताइरहेका छन् । प्रतीकलाई युक्रेनी सेनाले पक्राउ गरेको सूचनापछि उनको परिवारको तर्फबाट अवस्था सार्वजनिकका लागि कन्सुलर विभागमार्फत निवेदन दर्ता गराइएको थियो । युक्रेनी सेनाको नियन्त्रणमा रहेका तीन नेपालीलाई घर फिर्तीका लागि पहल गरिदिन परिवारका सदस्यहरूले आग्रह गरेका छन्।
लामो समयदेखि बेपत्ता प्रतीकसहितका नेपाली युवाहरू सकुशल सार्वजनिक भएपछि नेपालमा उनीहरूका परिवारलाई राहत भएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार यक्रेनी सेनाले गत शुक्रबार सार्वजनिक गरेकामा ५ नेपाली, तीन क्युबाली तथा एक-एकजना सोमालिया र सियरलियोनाका नागरिक रहेका छन्।
उनीहरूलाई सार्वजनिक गर्दै रसियासँगको युद्धमा विदेशी नागरिकलाई भर्ना हुनबाट रोक्न युक्रेनले सम्बन्धित देशलाई पनि अपील गरेको छ। तेस्रो देशका नागरिक यो युद्धमा सामेल नहुन् भन्ने उद्देश्यका साथ उनीहरूलाई सार्वजनिक गरेको युक्रेनी सरकारले जनाएको छ।
मस्कोले विदेशी नागरिकलाई सेनामा भर्ना गर्न सकिने कानुन अघिल्लो वर्ष ल्याएको थियो। तर सार्वजनिक रूपमा उसले नेपाली नागरिकहरू रुसी सेनामा भर्ना भएको विषय ‘आफ्नो जानकारीमा नरहेको’ प्रतिक्रिया दिने गरेको पाइन्छ। यस्तोमा युक्रेनले आफ्नो नियन्त्रणमा रहेका नेपालसहित चार देशका युद्धबन्दीहरू सार्वजनिक गरेर भाडाका सैनिकहरू आफूमाथिको युद्धमा मस्कोले प्रयोग गरिरहेको र त्यसको आफूले सामना गर्न आफूले कडा कदम चाल्नुपर्ने सन्देश प्रवाह गर्न खोजेको जस्तो देखिन्छ।
“कब्जामा लिइएका नागरिकहरू सार्वजनिक गरेर हामीले थप उग्र र प्रभावकारी कदम चाल्न आवश्यक भइसकेको सन्देश दिएका हौँ जसकारण अझै दशौँ हजार मानिसहरूलाई विपक्षीहरूले फकाएर भर्ती गर्न नपाउन्,” युक्रेनी सरकारका युद्धबन्दी हेर्ने अधिकारी पेट्रो यात्सेन्कोलाई उद्धृत गर्दै रोएटर्सले जनाएको छ।
युक्रेनी अधिकारीले रुसले न्यून आय भएका देशहरूका नागरीहरूलाई रुसले युद्धको अग्रमोर्चामा खटाएको बताए।-एजेन्सी

प्रतिक्रियाहरु