भारतमा आम निर्वाचन अप्रिल १९ देखि

२०८० चैत्र ५ गते, सोमबार


काठमाडौँ । भारतको निर्वाचन आयोगले देशको आगामी आम निर्वाचन अप्रिल १९ देखि सात चरणमा हुने जनाएको छ । भारतका मुख्य निर्वाचन आयुक्त राजिव कुमारले पत्रकार सम्मेलनमा जुन १ गतेसम्म हुने निर्वाचनको सम्पूर्ण कार्यतालिका घोषणा गरेका हुन् । दक्षिण एशियाली देशका १० लाखभन्दा बढी मतदान केन्द्रमा करिव ९७ करोड मानिसले मतदान गर्ने अपेक्षा गरिएको अधिकारीहरूले बताएका छन् । कुमारले पैसाको दुरुपयोग, मांसपेशी, गलत सूचना र आदर्श आचारसंहिता उल्लङ्घन निर्वाचन आयोगका प्रमुख चुनौति रहेको बताए । आगामी निर्वाचनमा हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा)बाट वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि उम्मेदवार बन्न खोजिरहेका छन् ।
उनले मुख्य विपक्षी कांग्रेस पार्टीको नेतृत्वमा रहेको इण्डियन नेशनल डेभलपमेण्टल इन्क्लुसिभ एलायन्स (इण्डिया) नामक करिब दुई दर्जन विपक्षी दलहरूको गठबन्धनबाट चुनौती सामना गर्नुपर्नेछ । मोदीको भाजपाले आफ्नो लागि ३७० सिट र राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) भनेर चिनिने गठबन्धनका लागि ४०० सिटको लक्ष्य राखेको छ ।
२०१९ मा भएको पछिल्लो चुनावमा, भाजपाले भारतीय संसदको ५४३ सदस्यीय तल्लो सदनमा ३०३ सिट जितेको थियो । सन् १९८० मा गठन भएयता त्यो पार्टीको अहिलेसम्मकै धेरै सिट हो । सन् १९४७ मा बेलायती शासनबाट देश स्वतन्त्र भए यता धेरै वर्ष सत्तामा रहेको भारतीय कांग्रेस पार्टी पुनरागमनका लागि कडा संघर्ष गरिरहेको छ ।-एजेन्सी

प्रतिक्रियाहरु