नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट

२०८० चैत्र २ गते, शुक्रबार


काठमाडौँ । नेपाल टेलिकमको सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जा डाँडास्थित टावर परिसरमा कुकर बम विस्फोट भएको छ । शुक्रबार बिहान करिब ३ बजेतिर दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको नेपाल टेलिकमको टावर परिसरमा कुकर बम विस्फोट भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् डीएसपी चिरञ्जीवी दाहालले विस्फोटबाट टावर परिसरमा रहेको भवनको झ्यालमा सामान्य क्षति भएको तर टेलिकमको टावरमा भने क्षति नभएको जानकारी दिए ।
बम विस्फोटको सूचना पाउनासाथ प्रहरी चौकी कुशेश्वर दुम्जाबाट टोली खटिएको थियो । टोलीले नेपाल टेलिकमको टावर परिसर भित्र रहेको पक्की घरको झ्यालमा कुकरको बिर्को अड्किएको, कुकरको भाग भुईंमा रहेको, त्यस नजिकै पेट्रोलको गन्ध आउने दुईवटा खाली बोतल र जनमुक्ति सेना लेखिएको पर्चा फेला पारेको थियो । घटनाको थप अनुसन्धान भइरहेको र विस्फोट गराउने काममा संलग्नहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु