प्रथम आदिवासी याक्थुङ सांस्कृतिक महोत्सव सुरु

२०८० फाल्गुन २४ गते, बिहीबार


काठमाडौँ । किरात याक्थुङ चुम्लुङको आयोजनामा इलाममा आजदेखि ‘प्रथम आदिवासी याक्थुङ\लिम्बू सांस्कृतिक महोत्सव आयोजना हुँदैछ । इलाम चोब बजारमा हुने सो महोत्सव कला, संस्कृति र परम्पराको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले हुन लागेको बताइएको छ। महोत्सवमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन, वेशभूषा प्रदर्शन, सांस्कृतिक परिकार प्रदर्शन र समसामयिक विषयको विभिन्न कार्यपत्रमाथि छलफल गरिने चुम्लुङ इलामको अध्यक्ष बुद्धमाया सोङ्मीले जानकारी दिए ।
महोत्सवको पहिलो दिन आज सांस्कृतिक झाँकीसहित च्याब्रुङ नाच (केःलाङ), धाननाच (याःलाङ), पालाम, हाक्पारे, ख्यालीलगायत सांस्कृतिक कला प्रस्तुति र लिम्बू पोशाक प्रदर्शनी गरिने उनले बताए।
“कला, संस्कृति र परम्पराको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्न आयोजित महोत्सवमा करिब दुई सय बढी च्याब्रुङ नृत्य (केःलाङ) सहितको सांस्कृतिक कला रहनेछन्, अन्य कलाकारसहित एक हजार बढीको प्रस्तुति रहनेछ”, उनले भने, “तागा (पुरुषले लगाउने सांस्कृतिक पोशाक) र मेख्ली (महिलाले लागाउने सांस्कृतिक पोशाक) पनि प्रदर्शन गरिनेछ ।”
शुक्रबार समसामयिक विषयका विभिन्न कार्यपत्र प्रस्तुत र छलफल गरी सबै सहभागीहरूलाई तरेचा (लिम्बू सांस्कृतिक परिकार)मा सहभागी गराइने अध्यक्ष सोङ्मीले बताए ।
त्यस्तै अन्य सांस्कृतिक परिकारहरू तोङ्बा (एक प्रकारको जाँड), फिलिङ्गेको अचार, किनामाको अचार र याङबेनको स्वाद चखाएर बिदाइ गरिने उनले बताए ।
छलफलमा ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) संरक्षणको अवस्था र भावी योजना, मुन्धुम निसाम हिम अवधारणा, याक्थुङ\लिम्बू भाषा विकासको योजनालगायतका विषयमा छलफल प्रचारप्रसार सहसंयोजक अतित योङहाङले जानकारी दिए ।
महोत्सवमा याक्थुङ\लिम्बू जातिको बाहुल्य रहेको पूर्वका नौ, उपत्यकाका तीन जिल्ला र चितवन गरी १३ जिल्ला र चारवटा विदेशस्थित चुम्लुङ शाखाबाट सहभागी हुने आयोजकले जनाएको छ ।
नयाँ र पुराना पुस्ता मिलेर पुख्र्यौली कला, संस्कृति र परम्पराको संरक्षण गर्दै पुस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको सहसंयोजक योङहाङले बताए ।
“कला, संस्कृति र परम्परा भनेको आदिवासी जनजातिको पहिचान हो, कला, संस्कृति र परम्पराको संरक्षण गर्दै पहिचान जोगाउन युवापुस्ताले चासो देखाउनुपर्छ”, उनले भने, “पुरानो कला, संस्कृति र परम्परा हाम्रो सम्पत्ति हुन्, त्यसैले यसको संरक्षण र सीप हस्तान्तरण आवश्यक छ ।”
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कानुसार नेपालमा लिम्बू जातिको जनसङ्ख्यया तीन लाख ५९ हजार तीन सय ७९ रहेकामा इलाममा मात्र ४५ हजार सात छ ।

प्रतिक्रियाहरु