आशा कोईरालाको ‘अमरगाथा’ सार्वजनिक

२०८० फाल्गुन २० गते, आईतवार


काठमाडौँ । पूर्वमन्त्री एवं जनयुद्ध अध्ययन प्रतिष्ठानका अध्यक्ष आशा कोईरालाद्वारा लिखित ‘अमरगाथा’ सार्वजनिक भएको छ। जनयुद्धका सहिद तथा बेपत्ता नागरिकहरूको जीवनीमा आधारित उक्त ‘अमरगाथा’ को विमोचन नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले गरेका हुन् ।
कोईरालाद्वारा लिखित ‘अमरगाथा’ पुस्तकमा १० बर्षे जनयुद्धका क्रममा तत्कालीन राज्यपक्षबाट मारिएका ६५ जना सहिद तथा बेपत्ता पारिएका १५ जना नागरिकको जीवनी समेटिएको छ ।
लेखक कोईरालाले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका खातिर जनयुद्धमा भएको बलिदानको स्मरणमा स्मृतिग्रन्थ तयार पारेको उल्लेख गर्दै एकै परिवारका ५ जना सदस्य सम्मको सहादत भएको तनहुँको जनयुद्धकालीन ईतिहास अध्ययन गर्न पुस्तक सहयोगी हुने विश्वास व्यक्त गरिन् ।
उक्त स्मृतिग्रन्थ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव गुरूङले माओवादी जनयुद्धले हासिल गरेका उपलब्धिहरूलाई उल्ट्याउने प्रयत्नहरू भैरहेकोले यसतर्फ क्रान्तिकारीहरू सचेत र संघर्षशील हुनुपर्ने बताए ।
यसैगरी, उक्त पुस्तकको परिचर्चा गर्दै प्रगतिवादी साहित्यकार दिलीपकुमार श्रेष्ठले श्रमजीवी सर्वहारा वर्गप्रतिको सच्चा प्रेम,दुश्मनप्रतिको तीव्र घृणा र महान् सहिद तथा बेपत्ता योद्धाहरूप्रतिको उच्च सम्मानभाव नै पुस्तकको मूल विशेषता भएको बताए भने गण्डकी साहित्य संगमका अध्यक्ष भीम रानाभाटले स्मृतिग्रन्थ आम श्रमजीवी वर्गको बलिदानको कथा बोल्ने प्रतिनिधि पुस्तक भएको बताए ।
उक्त कार्यक्रममा बोल्दै सहिद परिवार राम बहादुर थापाले सहिदका सपना के थियो र अहिलेको अवस्था के छरु भन्ने तर्फ माओवादी पार्टी र नेतृृत्वले जवाफ दिनुपर्ने बताए । बेपत्ता नागरिक कल्पना पन्तका भाइ रोहितकुमार पन्तले २५ बर्षसम्म पनि बेपत्ता नागरिकको अवस्था सार्वजनिक नगर्ने राज्यबाट परिवारले के आशा गर्ने भन्ने प्रश्न गरे ।
कार्यक्रममा माओवादी नेताहरू हरिबहादुर चुमान, राजेन्द्र केशरी न्यौपाने, मदन आले, शुक्र चुमान, अतिन्द्रकेशरी न्यौपाने, सुर्य बहादुर गौली लगायतले जनयुद्धमा भएको बलिदान, त्याग र योगदान स्मरणीय भएको उल्लेख गरे । सहिद सप्ताहको सन्दर्भमा आयोजित उक्त कार्यक्रममा सहिद तथा बेपत्ता नागरिकका परिवारलाई अभिनन्दन पत्रले सम्मान गरिएको थियो ।

प्रतिक्रियाहरु