दुग्ध किसानद्वारा देशब्यापीरुपमा आन्दोलन

२०८० फाल्गुन १७ गते, बिहीबार


काठमाडौँ । दुग्ध किसान दूधको भुक्तानी नपाएको भन्दै देशभर आन्दोलन चर्काएका छन् । यसैक्रममा नवलपरासी पूर्वका किसानहरूले पूर्व–पश्चिम राजमार्गको कावासोतीमा दूध पोखेर विरोध गरेका छन् भने दुग्ध उत्पादक सहकारी सङ्घ मकवानपुरको अगुवाइमा विभिन्न ठाउँबाट हेटौँडा पुगेका किसानहरूले केहीबेर सडक बन्द गरेर प्रदर्शन गरेका छन् । सरकारी तथा निजी क्षेत्रका दुग्ध उद्योगले किसानबाट किनेको दूधको रकम दिएका छैनन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष हरिप्रसाद कँडेलले मकवानपुरमा मात्रै ६० करोड रुपैयाँ पाउन बाँकी रहेको बताए ।
यसैगरी, काभ्रेमा पनि किसानहरूले अरनिको राजमार्ग बन्द गरेर केहीबेर प्रदर्शन गरेका छन् । अन्यत्र दुध पोखे पनि काभ्रेमा भने किसानले बटुवालाई दूध खुवाएर विरोध गरेका छन् । दूध बिक्री नभएको र बिक्री भएको दूधको पनि भुक्तानी नपाएको भन्दै देशैभरका किसान आन्दोलनमा छन् ।
दूध तथा दुग्ध पदार्थको मौज्दात बढेपछि सरकारले दूध तथा दुग्ध पदार्थ आयातमा रोकसमेत लगाएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागलाई पत्र पठाएर अर्को निर्णय नभएसम्म आयात परमिट जारी नगर्न भनेको छ ।
किसानहरूले मिल्क होलिडेु अर्थात् दूध बिक्री नहुने समस्याको अन्त्य हुनपर्ने र दूधको मूल्य र बिक्रीको जिम्मा सरकारले लिनुपर्ने लगायतका माग गरेका छन् ।

प्रतिक्रियाहरु