महाकवि देवकोटाको ११५ औ जन्मजयन्ती मनाइँदै

२०८० कार्तिक २६ गते, आईतवार


काठमाडौँ । आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १५ औ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ । कालजयी कृतिमार्फत् नेपाली साहित्यमा पु-याएको योगदानलाई स्मरण गर्दै हरेक वर्ष लक्ष्मी पूजाको दिन देवकोटाको जन्मजयन्ती मनाउने गरिन्छ । विसं १९६६ साल कात्तिकको औंशीका दिन पिता तिलमाधव देवकोटा र माता अमरराज्य लक्ष्मीको साहिलो छोराको रुपमा जन्मिएका देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सुरुवात गरेका थिए ।

१० वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन्।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा लोकप्रिय र बढी बिक्री भएको पुस्तक हो।
नेपाली साहित्यमा स्वच्छन्दतावादी र प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्किन्छ। उनमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ।
विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका थिए।
तीन महिनामा ‘शाकुन्तला’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तत्काल कविता लेख्नसक्ने क्षमता थियो। देवकोटाको कवि९प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ।
देवकोटाको निधन २०१६ सालमा भएको थियो।


प्रतिक्रियाहरु