विश्वकप क्रिकेट :अष्ट्रेलियाद्वारा न्युजिल्याण्ड पराजित

२०८० कार्तिक १२ गते, आईतवार


काठमाडौँ । विश्वकप क्रिकेटमा न्यूजिल्याण्डमाथि अष्ट्रेलियाले पाँच रनको रोमाञ्चक जित निकालेको छ । भारतको धर्मशालामा हिजो भएको खेलमा अष्ट्रेलियाले दिएको ३ सय ८९ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले रचिन रवीन्द्रको शतकको मद्दतमा ५० ओभरमा ९ विकेट गुमाएर ३८३ रन मात्र बनाउन सक्यो । जेम्स निसमले आक्रामक पारी खेल्दै न्यूजिल्याण्डलाई जित नजिक पु¥याएका थिए । अन्तिम ओभरमा जितका लागि १९ रन चाहिएको अवस्थामा अन्तिम बल खेल्नुअघि निसम ५८ रन बनाएर आउट भए । अन्तिम बलमा छक्का चाहिएको थियो । तर लोकी फर्गुसनले रन जोड्न नसकेपछि न्युजिल्याण्ड पाँच रनले पराजित भयो ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ट्राभिस हेडको १०९ रनको मद्दतले ४९ ओभर २ बलमा सबै विकेट गुमाएर ३ सय ८८ रन बनाएको थियो । जितसँगै अष्ट्रेलिया अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । ६ खेलबाट १० अंक जोडेको दक्षिण अफ्रिका शिर्ष स्थानमा छ भने एक खेल कम खेलेको भारत पनि १० अंकको साथ दोस्रो स्थानमा रहेको छ । न्युजिल्याण्ड र अष्ट्रेलियाको ८–८ अंक छ ।
हिजै भएको अर्को खेलमा नेदरल्याण्ड्सले बंगलादेशलाई ८७ रनले हराएको छ । जारी विश्वकपका नेदरल्याण्ड्सको यो दोस्रो जित हो । विश्वकप क्रिकेटमा आज आयोजक भारतले इंग्ल्याण्डसँग खेल्नेछ । आजको खेल जित्दै भारत तालिकाको शिर्ष स्थानमा उक्लिन चाहन्छ । इंग्ल्याण्ड भने आजको खेलमा पराजित भएको खण्डमा सेमिफाइनलमा पुग्ने होडबाट बाहिरिनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु