पारा एसियाली खेलकुद: नेपाललाई कास्य पदक

२०८० कार्तिक ८ गते, बुधबार


काठमाडौँ । पारा एसियाली खेलकुदमा नेपालकी पलेशा गोबर्धनले कास्य पदक जितेकी छिन् । पारा तेक्वान्दो खेलाडी पलेशाले चिनको हाङझाउमा जारी चौथो एसियाली पारा खेलकुदमा कास्य पदक जितेकी हुन् । उनले तेक्वान्दोको महिला के–४४ क्याटगोरीअन्तर्गत ५७ केजीमुनि तौल समूहमा कास्यपदक जित्दै इतिहास रचेकी हुन् ।
पलेशाले एसियाली पारा खेलकुदमा जितेको कास्य पदक उनको मात्र नभइ नेपालकै निम्ति पारा एसियाडमा पहिलो पदक हो ।
नेपालले एसियाली पारा खेलकुदमा सुरुको संस्करणदेखि नै सहभागिता जनाउँदै आएको छ । तेक्वान्दो भने यसै संस्करणदेखि मात्र समावेश गरिएको हो । क्वार्टरफाइनलमा पलेशाले चीनकी लिटिङ याङलाई १४–१ अंकले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेकी थिइन् । सेमिफाइनलमा भने पलेशा काजखस्तानकी खेलाडी कामिल्या दास्मोलोभासँग १६–१० ले पराजित भइन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु