नेकपा दाङद्वारा अलपत्र सडक निर्माण कार्य सुचारु गर्न माग

२०७९ फाल्गुन २१ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले दाङमा अलपत्र फोरलेन सडक निर्माण कार्य सुचारु गर्न दबाब स्वरुप चक्काजाम सम्पन्न गरेको छ ।
सो पार्टीको तुलसीपुर नगर समितीको आयोजनामा आज लमही – घोराही – तुलसीपुर सडक तत्काल निर्माण कार्य सुचारु गर्न दबाब स्वरुप तुलसीपुरको हात्तीखौवा चोकमा आधा घण्टा चक्काजाम गरिएको नेकपाले जनाएको छ । सडक लामोसमयदेखि अलपत्र हुँदा सवारी दुर्घटनाको जोखिम र धुलोले सास्ती दिँदा नागरिकले भोगेको सास्तीलाई मध्यनजर गरि सडक निर्माण कार्य अबिलम्ब सुचारु गर्न दबाब स्वरुप आधा घण्टा चक्काजाम गरिएको सो पार्टीले जनाएको हो । चक्काजामपछिको कोणसभालाई सम्बोधन गर्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य संजय सीले राज्यले जनताको स्वास्थ्यसंग गरेको लापरबाहीलाई नजरअन्दाज गर्न नसकिने चेतावनी दिएका हुन् । उनले भने – ‘ राज्यको बेवास्ताका कारणले गर्दा अलपत्र सडक दुर्घटनामा परि १८/२० जना नागरिकले ज्यान गुमाइसकेका छन् । दिनानुदिन सवारी दुर्घटनाका घटनाहरु बढिरहेका छन् । दैनिकजसो नागरिकहरुले धुलो धुवाको सास्तीका कारणले जनजीवन प्रभावित भइरहेको छ । हाम्रो पार्टी यो स्थिति टुलुटुलु हेरेर बस्न सक्दैन । हामी चरणबद्ध आन्दोलन गर्नेछौं तर राज्यको चरम लापरबाही र जनताको दैनिक जनजिविकाका सवालहरुमा चुप लागेर बस्न सक्नेछैनौ ।’
नेता संजयले अलपत्र फोरलेन सडक निर्माण कार्य अबिलम्ब सुचारु नगरे पार्टी थप कडा संघर्षमा जाने चेतावनी दिएका थिए ।
कोणसभाको सहजीकरण युवा संगठन नेपालका केन्द्रीय सदस्य शुदर्शन सीले गरेका थिए । अलपत्र फोरलेन सडक निर्माण कार्य तत्काल सुचारुका लागि दाङमा विभिन्न संघ/संस्थाहरुले बेलाबेलामा आन्दोलन गर्ने गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु