कसरी सुन्दर बनाउन सकिएला नेपालको भबिष्य ?

२०७८ जेष्ठ ३ गते, सोमबार

लोकनारायण सुवेदी

विभिन्न गम्भीरतम् विश्वस्तरीय र स्थानीय चुनौतीहरुका बीचबाट गुज्रिरहेको कमजोर र अविकसित हाम्रो देशलाई सुन्दर भविष्यको दिशामा कसरी डोराउन सकिन्छ आजको यो सर्बाधिक महत्वको अत्यन्तै ठूलो र गम्भीर यक्ष प्रश्न हो । कोरोना भाइरसले समेत विश्वलाई नराम्रोसँग गाजिराखेको आजको थप महासंकटको स्थितिमा यसका बारेमा एउटा वस्तुवादी समग्र दृष्टिकोण बनाइनु आवश्यक छ । यसका साथै हामीले आफ्नै र विश्वको इतिहासका असल परम्पराबाट प्रेरणा र आवश्यक शिक्षा लिनु पनि उत्तिकै आवश्यक छ ।

हुन त इतिहासलाई अनेक दृष्टिकोणबाट हेर्न र केलाउन सकिन्छ । साँच्चै नै यदि आजको अमानवीय र असमानताले आक्रान्त विश्वलाई बदलेर यसलाई सुन्दर विश्व बनाउने हिसावले हेर्ने र यसको सरोकारको दृष्टिले केलाउने हो भने केही प्रश्नहरु र केही समस्याहरु अत्याधिक अग्रभागमा खडा हुने छन् र तिनको समाधान सर्बाधिक प्राथमिकताको आवश्यकता पर्दछ । त्यसैले हामीले हाम्रो देशको र विश्वको पनि इतिहासलाई हेर्नु पर्दछ कि इतिहासको कुन चरणमा, कुन समयमा र कुन वस्तुस्थितिमा जनताका बीचको आपसी भाइचारा, परस्पर सुलह–सम्झौता कुन कारणले भएको थियो र त्यो कुन परिवेशमा बढी सबल बनेको थियो । जनताले कुन चरणमा र समय विशेषमा समृद्धिलाई मात्र होइन, सन्तुष्टि र एकतालाई बढी नै महत्व दिएका थिए । अनि कुन समय विशेषमा मानवीय जीवन–मूल्य र सामाजिक मूल्यहरुलाई बढी महत्व दिएका थिए । अनि कुन बेला श्रमको आदर्श र महत्वबाट बढी प्रेरित भएर जनता अग्रसर भएका थिए । यसरी नै कुन समयमा जनता बोट बिरुवा, जीबजन्तु आदिको अर्थात् प्रकृतिको रक्षा गर्न अझ बढी संबेदनशील र प्रेरित भएका थिए र अझ सबैभन्दा महत्वपूर्ण अनि कुन समय र वस्तुगत परिस्थिति बिशेषमा आफ्नो भाबी पिँढीको सुखद भविष्यका लागि उनीहरु सर्बाधिक अग्रसर भएर सही बाटो लाग्ने कोसिसमा थिए ? यी र यस्ता अरु प्रश्नहरुको सही उत्तर खोज्न आरम्भ गरेर मात्र हामीले जनताले हिँडेको सही बाटो पहिल्याउन सक्दछौँ र आज र भोलिका लागि पनि अबलम्बन गर्नपर्ने सही बाटो अबलम्बन गर्न सक्दछौं ।

हाम्रो देशको इतिहासमा यस्ता चारवटा महत्वपूर्ण समय आएको हामी देख्दछौ । यस्तो उल्लेखनीय पहिलो समय थियो इशा पूर्व छैठौं शताब्दीतिरको हाम्रो समाज त्यो आजभन्द झण्डै झण्डै २५६१ बर्ष जति अगाडिको समय हो, जतिबेला सिद्धार्थ गौतम बुद्धले कुरीति र अन्धविश्वासले जकडिएको समाजमा ठूलो सुधारको शंखघोष गरेका थिए । सादा जीवन, अहिंसा र परस्पर सहयोग तथा समताको उद्घोष गरेका थिए, त्यसको सन्देश दिएका थिए । त्यसबेला भारतको सम्राट अशोकले कलिङ्गमा आफैँले सिर्जना गरेको र लडेको रक्त रञ्जित युद्धको बर्बरतालाई छोडेर उनी तत्कालीन कलिङ्गका अत्यधिक शक्तिशाली सेनाका सेनापति हुँदाहुँदै पनि आक्रमण र बिजयको नीति पूरै छोडेर बुद्धको नीति अबलम्बन गरेका थिए । केही हदसम्म मिश्रका अखनातोनलाई छोडेर प्राचीन विश्वको इतिहासमा यस्तो कुनै अर्को उदाहरण अहिलेसम्म छैन । त्यसपछि सम्राट अशोकले आफ्नो जीवनलाई जनकल्याण र पशुपंक्षीहरुको कल्याणमा पनि लगाए । उनले बौद्ध धर्मको प्रचार टाढा–टाढासम्म गरे र अन्य धर्महरुप्रतिको सहनशीलता सहिष्णुता र सद्भाव देखाए । त्यसरी अबाञ्छित हिंसाको बाटो छोडेर बुद्ध मार्गमा हिँड्न थालेपछि देखिनै अशोकले अद्भूत राजनीतिक एकता स्थापित गर्न सफल भएका थिए ।

तिनै सम्राट अशोक सिद्धार्थ गौतम बुद्ध जन्मेको स्थल खोज्दै नेपाल आए र त्यहाँ उनले बुद्ध जन्मेको स्थान फेला पारेपछि त्यसको मृतिमा एउटा स्तम्भ नै बनाए । जसलाई इतिहासमा ‘अशोक स्तम्भ’ (अशोका पिलार) भनेर चिनिन्छ । त्यसले नै बुद्ध नेपालमा जन्मेको ऐतिहासिक र सपुष्ट प्रमाण दिन्छ । त्यति मात्रै होइन, सम्राट अशोकले आफ्नी छोरी चारुमतिलाई नेपाल उपत्यकाकै देबपत्तमा बसोबास र घरजम गराए । उनले पनि बुद्धका ठूल्ठूला स्तुप बनाएर बुद्ध नेपालमा जन्मेका हुन् र तिनले महान् काम गरेका थिए र एउटा सही मागदर्शन समाजलाई गरेका थिए भन्ने कुरालाई चीरस्थायी राख्ने काम गरेकी थिइन् । तिनले बनाउन लगाएका ठूलो माटोको अर्धगोलाकार शैलीका गुम्बा स्तूपहरु अहिले पनि हामी ललितपुरको पुलचोक, लगनखेल र इमाडोल आदि ठाउँमा मज्जाले देख्न सक्छौ, भलै आज तिनको स्याहार सम्हार राम्रोसँग हुन नसकेको किन नहोस् । यति कुराले मात्रै पनि बुद्ध भारतमा जन्मेको होइन, नेपालका एक मेधावी र प्रतिभावान सुपुत्र हुन् भन्ने कुरा छर्लंग हुन्छ,भलै उनले ज्ञान पाउने सिलसिलामा उनी तत्कालीन भारतको बोधगया, सारनाथ र कुशीनगरमा गएका किन नहुन् । ज्ञान पाउनुलाई दोश्रो पटक जन्मिनु या ब्रह्मत्व प्राप्त गर्नु भन्ने पुरानो शास्त्रमा मान्यता छ । त्यो भने बुद्धले प्राप्त गरेका हुन् भन्ने कुरामा कुनै माथापच्ची गरिरहनु नै पर्दैन ।

दोश्रो कुरा तत्कालीन लिच्छवि राजा अंशुबर्माले आफ्नी छोरी भृकुटीलाई तिब्बतका राजकुमार स्रोङ्गचन गम्पोलाई दिएर नेपालको राष्ट्रियता र देशको सार्बभौमिकताको रक्षा गर्ने अत्यन्तै उदात्त र महत्वपूर्ण काम गरेका थिए । त्यतिबेलाको जातिपातिको ठूलो दुहाई दिने हिन्दू धर्म सँस्कृतिमा जन्मे हुर्के बढेकी एक युवा उमेरकी छोरी राजकुमारी भृकुटीलाई अत्यन्त भिन्नै सँस्कृृति– बौद्ध धर्म सँस्कृति, भिन्न प्रथा भाषा भएको राजकुमारलाई दिएर तिब्बतसँगको कूटनीति र दौत्य सम्बन्धलाई सुदृढ र सुमधुर बनाउन उतिबेला खेलेको भूमिका स्तुत्य र आजको दिनमा पनि गौरवका साथ सम्झनलायक छ । त्यसपछि हाम्रो इतिहासमा एउटा निकै लामो कालखण्ड मृत्तिका कला, काष्ठ कला, धातु कलालगायतका बास्तुकलाले भरिपूर्ण भएको इतिहास छ । आज हामी इतिहासका ती सामग्रीहरुलाई मठ मन्दिर, घरका झ्याल ढोका, टुडाल, निधाल र बिमहरुमा देख्छौ, भित्ते चित्रहरु देख्छौ ढुंगेधाराहरु, पाटी–पौवाहरु देख्दछौँ ती भलै त्यस कालका अर्थ–सामाजिक तथा राजनैतिक परिस्थितिको परिबेश सापेक्षकै किन नहुन् गर्ब गर्नलायक छन् । ती सबै हाम्रा पूर्खाहरु खासगरी श्रमजीवि जनताहरुको सीप, कौशल र निपूणताका द्योतक हुन् । तिनलाई देखेर अहिले पनि हाम्रो नाक ठाडो हुन्छ, गर्बानुभूति हुन्छ । नेपालबाट चीन गएर प्यागोडा शैलीको प्रचार–प्रसार गर्ने अनेक मठमन्दिर बिहार आदिमा त्यो शैलीको अंकन गर्ने हाम्रा प्रसिद्ध नेपाली कलाकर्मी ब्यक्तित्व अरनिकोको नेपालमा भन्दा चीनमा त्यतिबेला पनि र अहिले पनि ठूलो सम्मान रहेको छ । हुन पनि किराँत, लिच्छवि र मल्ल कालपछि नेपालमा कलाकौशलको बिकास र तिनले नबीनता पाएको हामी देख्दैनौँ । तिनको ब्यापारिक नक्कल या नवनिर्माण धुकुर–धुुकुर चल्नु बेग्लै कुरा हो । हाम्रो इतिहासले हामीलाई थाहा दिन्छ— प्राचीन ललितकलाको लालित्यले भरिएको पाटनलाई त्यसै कारणले ललितपुर भन्ने संज्ञा दिइएको हो, जुन अहिले पनि प्रसिद्ध नै छ ।

यसका अतिरिक्त जुन हाम्रो पछिल्लो ऐतिहासिक अर्को कालखण्ड छ त्यो साम्राज्यवाद बिरोधी काल खण्डको आरम्भ भएको कालखण्ड पनि हो । अहिले पनि हामी हाम्रो देशमा पूर्बदेखि पश्चिमसम्म चौदण्डीगढी, उदयुपरगढी, सिन्धुलीगढी, मकमानपुरगढी, जीतगढी, अमरगढी, शिबगढीजस्ता ठूला–साना गढीहरु पाउँदछौं ती नेपाली जनताका साम्राज्यवाद बिरोधी मोर्चा लिँदाका बखतका गढीहरु हुन् । त्यतिबेलाका जनताले जुन स्तरमा कुरा बुझेका थिए त्यो कुराको सापेक्षतामा ती ऐतिहासिक गढीहरुको संरक्षण, सम्बद्र्धन र तिनको गौरबको उजागर गर्नु र त्यसबाट सिक्नु पर्दछ । हाम्रा पूर्खाहरुको बहादुरीलाई हामीले आज नाक चेप्प्राएर हेर्नु हुँदैन, त्यतिबेलाको जनताको सकारात्मक भूमिकालाई खोज्नु पर्दछ । इतिहासको पुनर्निर्माण गर्नु पर्दछ ।

त्यसै कालखण्डमा बृटिश साम्रज्यवादसँगको कयौ युद्ध मोर्चामा हाम्रा पूर्खाहरुले बिजय हासिल पनि गरे र कयौं ठाउँमा हार पनि खाए । पछिल्लो पटक हार खाए पछि १८१६ मा जतिबेला बिश्व साम्राज्यवादमा कहिल्यै घाम अस्ताउँदैन, भनिथ्यो पृथ्वीको पश्चिमदेखि पूर्बी गोलार्धसम्म, त्यो बृटिश साम्राज्यवादको एकक्षत्र शासन थियो, त्यतिबेला नेपालले अपमानजनक सुगौली सन्धि गर्नु परेको थियो र आज हामी त्यसै सन्धिले चर्चेको नेपालको सीमाना भारतले मिचेकोले त्यो फिर्ता गर भनेर कराइराखेका र लडिराखेका छौं । त्यो सुगौली सन्धिदेखि नै बृटिश साम्राज्यवादले नेपालको दरबारिया अन्तरबिरोधमा खेलेर थापा, पाण्डे र बस्नेत खलकहरुका बीचमा काटमार मच्चाउँदै जाने क्रममा अन्ततः कोतपर्ब गराएर राणा शासनको अभ्युदय गराएको हामी पाउँदछौं । त्यो बृटिश साम्राज्यवादको आडधापमा शुरु भएको राणा शासन १०४ बर्षसम्म चल्यो । त्यो वास्तवमा बर्बर मध्ययुगीन सामन्ती शासन थियो । जनतालाई कुनै अधिकार थिएन । त्यसको बिरुद्ध नेपाली जनताको आन्दोलन हुनु अनिबार्य थियो तर त्यो उठ्न सकिरहेको थिएन ।

राणा जंगबहादुर शासनकालको अत्याचार सहन नसकेर अन्ततः लखन थापाले धार्मिक आडमै भए पनि बिद्रोह शुरु गरे । उनीलगायत धेरैजना बिद्रोहीहरुलाई राणा शासकहरुले मारे । त्यस बिद्रोहको धेरै समय पछि प्रचण्ड गोर्खाको पनि बिद्रोह उत्पन्न भयो । तर, राजनीतिक प्रकृतिको पहिलो बिद्रोह भने १९९३ सालमा नेपाल प्रजा परिषद गठन भएपछि शुरु भएको हो । त्यसैको परिणामस्वरुप राणा शासकहरुले चारजना बीर शहीदहरु शुक्रराज शास्त्री, धर्मभक्त, दशरथ चन्द र गंगालालको हत्या गरे १९९७ सालमा । त्यसैलाई नेपालको इतिहासमा ‘शहीद पर्ब’ पनि भनिन्छ । ती चार अमर शहीदहरुको अबिचल निर्भीकता, साहस र आत्मोत्सर्गको उच्च भावनाले नेपाली जनताको राजनीतिक आन्दोलनलाई थप ऊर्जा, उत्साह र अजश्र प्रेरणा दियो । फलस्वरुप नेपाली राष्ट्रिय काँग्रेस २००३ सालमा र नेपाल कम्युनिष्ट पार्टी २००६ सालमा खडा भए । मूलतः राणा शासन विरोधी राजनीतिक आन्दोलनमा नेपाल प्रजा परिषद, नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी त्यस परिस्थितिमा खडा भएका थिए । त्यसमा भित्रीरुपमा राजा त्रिभुवन पनि राणा शासन बिरुद्ध लाग्न सहमत भएको देखिन्छ । स्वयम् शहीद धर्मभक्त राजा त्रिभुवनलाई शारीरिक ब्यायम सिकाउने शिक्षक थिए । राणाहरुले सुरा सुन्दरीमा लठ्ठ पारेर थुनेका राजाको बाह्य सम्पर्क धर्मभक्तमार्फत् नै त्यतिबेला भएको इतिहासका विज्ञहरु बताउँदछन् । यसरी राणा शासन बिरोधी सबै शक्ति प्रत्यक्ष परोक्षरुपमा मिलेर लडेपछि २००७ सालमा राणा शासनको अन्त्य भएको थियो ।

यो नेपाली जनताको बिगतको इतिहास हो । तर, २००७ साल पछिको परिबर्तन पछि पनि नेपाली जनता र राष्ट्रले धोका बारम्बार धोका पाएको इतिहास छ । पटक–पटक प्रतिगमनको दुष्चक्रले राजनीति, अर्थतन्त्र, सामाजिक संरचना र सँस्कृतिमा समेत नेपाली जनतालाई एक वा अर्को किसिमले लखेटिरहेको, पछ्याइरहेको स्थिति अहिलेसम्म नै चलिरहेको छ । त्यसैले भन्ने गरिएको छ कि– ‘पात्र बद्लियो तर प्रबृत्ति बद्लिएन । विगतका असल कुराबाट सिक्ने काम भएन तर गलत प्रबृत्तिलाई तीब्ररुपमा आत्मसात गर्ने गरियो । राजतन्त्र गयो तर राजशी ठाँटबाँट गएन । छल प्रपञ्च गएन । दमन उत्पीडन गएन । जनतालाई निरीह ठान्ने र चुनावका खेताला मात्र मान्ने नवसामन्ती प्रबृत्ति किनारा लागेन । चुनावका बेला जनतालाई जनार्दन भन्ने गरिए पनि ती जनार्दनको कहिल्यै सम्मान भएन न हिजो न आज । त्यसैले जनता यी विगतका कुराहरुबाट सिकेर उन्नत परिवर्तनको चाहना राख्छन् । त्यसो नगरिकन सुन्दर भविष्यको आशा गर्न पनि उनीहरुले कसरी सक्छन् र ?

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु