भीमेश्वरको शिलामा निरन्तर पसिना !

२०७७ मंसिर ९ गते, मंगलवार


काठमाडौं । पछिल्लो पटक आज दिउँसो २ बजेदेखि दोलखाको भीमेश्वरको शिलामा निरन्तर पसिना आइरहेको मन्दीर व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले बताए । उनले शिलामा पसिना आएको यो १८ औं पटक भएको बताउदै सो मन्दीरमा पसिना आए मुलुकमा अशुभ हुने तथा नराम्रा घटनाहरु हुने धार्मिक मान्यताहरु रहेका बताएका छन् । यसअघि पनि शिलामा पसिना आउदा देशमा ठूला-ठूला क्षति भएका थिए ।
यसअघि शिलामा १७ औं पटक फागुन ८ मा आएको उहाँले जानकारी दिनुभयो । त्यसपछि लगत्तै कोरोना महामारीका कारण देशभरी लकडाउन भएको थियो । २०६२\०६३ को जनआन्दोलन अघि पनि शिलामा पसिना आएको थियो । त्यस्तै राजदरबार हत्याकाण्ड हुनुभन्दा डेढ महिनाअघि पनि पसिना आएको थियो । त्यस्तैगरि १९९० मा भूकम्प आउनुभन्दा अघि पनि शिलामा पसिना आएको बताइन्छ । मंगलबार पनि शिलाको दायाँ बायाँ दुवै भागबाट पसिना आइरहेको अध्यक्ष श्रेष्ठले बताए ।
लकडाउन पछि नियमित पूजाको लागि खोलिएको मन्दिर एकहप्ता पछि पुन बन्द गरिएको थियो । अहिले सर्वसाधारणका लागि बन्द रहेको छ । तर पसिना आउन थालेपछि चलन अनुसार मन्दिर व्यवस्थापन तथा गुठियारहरुले र स्थानीयले पूजा गरिरहेका छन् । पसिना आएपछि क्षमा पूजाको लागि शिलामा आएको पसिना पुछ्ने चलन छ । त्यहाँ पसिना पुछिएको रुवा जिल्ला प्रशासन कार्यालयको रोहवरमा गृहमन्त्रालयमार्फत राष्ट्रपतिको कार्यालयमा पुर्‍याउने व्यवस्था गरिएको छ । यसअघि राजाका पालामा पसिना आउँदा राजदरबाट क्षमा पूजाको लागि पञ्चवली पठाउने प्रचलन थियो ।

प्रतिक्रियाहरु