बालगोपालेश्वर मन्दिरमा गजुर राखियो

२०७७ आश्विन १५ गते, बिहीबार


काठमाडौं । २०७२ सालको भूकम्पमा क्षतिग्रस्त रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ। यसैक्रममा आज सो मन्दिरमा सुनको लेपन भएको गजुर राखिएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार मन्दिरमा राखिएका सबै गजुरमा करिब २८ तोला सुनको जलप लगाइएको छ । गजुर निर्माणमा करिब ३३ लाख रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ ।
यस अघि गुम्बज शैलीमा निर्माण गरिएको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदन अनुसार प्रताप मल्लको पालामा बनाइको ग्रन्थकुट ‘शिखर’ शैलीमा पुनर्निर्माण गरिएको छ । १८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुनर्निर्माण गरिएको थियो । तर यसपटक फेरी पुरानै शैलिमा पूनर्निर्माण गरिएको हो । मन्दिरको शिरमा रहेको गजुरको कुल उचाई ६ फुट १० इन्च रहेको छ । ताम्रपत्रमा सुनको लेपन लगाएर गजुरको निर्माण गरिएको हो । २०७२ साल माघ ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् । तर बीचमा आधुनिक शैलिबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलिबाट निर्माण गरिएको हो । शिलान्यास भएको करिब ५ वर्षपछि मात्रै रानीपोखरी पुनर्निर्माणको काम सकिने चरणमा छ । यसपटकको भाइटिकाको दिन मन्दिर खुला गर्नेगरी पुनर्निर्माणको काम भैरहेको छ ।

प्रतिक्रियाहरु