आज १८ औं सांस्कृतिक बलिदान दिवस, जनसांस्कृतिक महासंघद्वारा वैज्ञानिक समाजवादको दिशामा लामबद्ध हुन अपिल

२०७७ जेष्ठ १३ गते, मंगलवार

काठमाडौं , १३ जेठ । तत्कालीन महेन्द्र पुलिस क्लबभित्र कठोर, बर्बर एवं अमानवीय ढंगबाट मानसिक तथा शारीरिक यातना दिई हत्या गरेका साहित्यसर्जक, वरिष्ठ पत्रकार तथा सामाजिक अभियन्ता कृष्ण सेन ‘इच्छुक’ ले सहादत प्राप्त गरेको दिन १३ जेठलाई क्रान्तिकारीहरुले सांस्कृतिक बलिदान दिवसका रुपमा मनाउँदै आएका छन् । राजतन्त्रात्मक संसदीय व्यवस्थालाई ध्वस्त पारेर संघीय गणतन्त्र नेपालको स्थापना गर्न सफल दसवर्षे महान् नेपाली जनयुद्धका क्रममा संसदवादी सत्ताले देशभरका विभिन्न स्थानहरुमा निर्ममतापूर्वक हत्या गरेका तमाम सांस्कृतिक सहिदहरुको स्मरण एवं सम्मानस्वरुप हरेक वर्षकाे जेठ १३ मा विभिन्न स्थानमा विभिन्न कार्यक्रम गर्दै सांस्कृतिक बलिदान दिवस मनाइँदै आएको छ ।
१९औं सांस्कृतिक बलिदान दिवसकाे सिलसिलामा नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल जनसांस्कृतिक महासंघले अपिल जारी गरेको छ । प्रस्तुत छ, सोही अपिलको पूर्णपाठ– “आदरणीय संस्कृतिकर्मीहरू !
महान् सांस्कृतिक सहिद कृष्ण सेन ‘इच्छुक’ को स्मृति र सम्मानमा यतिबेला देशव्यापी विविध कार्यक्रम भइरहेका छन् । अखिल नेपाल जनसांस्कृतिक महासङ्घले हरेक वर्ष इच्छुकले सहादत प्राप्त गर्नुभएको जेठ १३ लाई सांस्कृतिक बलिदान दिवसको रूपमा मनाउँदै आएको छ । १८ औँ सांस्कृतिक बलिदान दिवसको सन्दर्भमा हामी महान् सांस्कृतिक सहिद कृष्ण सेन ‘इच्छुक’ लाई हार्दिकतापूर्वक क्रान्तिकारी अभिवादन गर्दछौँ । यस विशिष्ट सन्दर्भमा हामी देश र जनताका पक्षमा कुर्बानी गर्नुहुने सबैलाई सम्मानका साथ स्मरण गर्न चाहन्छौँ ।
निगम पुँजीवादले आफ्नो विषालु फणा विश्वभर फैलाइरेहको यतिबेला कोरोना भाइरस ‘कोभिड १९’ सित विश्व मानव जगत्को भीषण सङ्घर्ष चलिराखेको छ । कोरोनाका कारण विश्वमा अकल्पनीय मानवीय सङ्कट चुलिँदै छ । विशेषतः कोरोनाले उत्पीडित तथा श्रमजीवीलाई नै बढी असर पु¥याएको छ । शासकहरूका चरम लापरवाह र घोर उपेक्षाका कारण मजदुरहरू सयौँ किलोमिटरको पैदल यात्रा गर्न बाध्य छन् । मानिसहरू भोकभोकै मर्न थालेका छन् । कोरोनाभन्दा पनि बढी आभाव र गरिबीका कारण आत्महत्या गर्नेहरूको सङ्ख्या तीव्र बन्दै छ । मानिसहरू ‘मर्नुभन्दा बौलाउनु निको’ भन्दै सडकमा मरेको कुकुरको मासु खान थालेका छन् । यसले समकालीन विश्वको राजनीतिक व्यवस्था र तिनका शासकीय औकात छर्लङ्ग बनाइदिएको छ । कोरोनाका कारण मृत्युवरण गरेका विश्वभरका कवि, कलाकार, लेखक, साहित्यकार, सङ्गीतकारलगायत समस्त संस्कृतिकर्मीप्रति हामी गहिरो समवेदना व्यक्त गर्दछौँ । सङ्क्रमितहरूको यथाशीघ्र स्वास्थ्यलाभको कामना पनि गर्दछौँ । स्रष्टाहरूको रक्षार्थ उपलब्ध साधन–स्रोतहरूको अधिकतम उपयोग गर्न पनि हामी विशेष अपिल गर्दछौँ ।
हामी यतिबेला इतिहासकै सङ्गीन घडीबाट गुज्रिरहेका छौँ । केपी ओली सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको पनि प्रतिबन्ध डेढवर्ष नजिक पुग्दै छ । हामी प्रतिबन्धित अवस्थामै आफ्नै कला र कौशल प्रयोग गरेर देश र जनताको पक्षमा काम गरिरहेका छौँ । एकीकृत जनक्रान्तिमा एघारजना कमरेडहरूले सहादत प्राप्त गरिसक्नुभएको छ । हजारौँ नेता–कार्यकर्ता जेल–हिरासतमा हुनुहुन्छ । जेल–हिरासतमा चर्को शारीरिक र मानसिक यातना दिने गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीले ओली नेतृत्वको सरकारलाई ‘दलाल तथा सामाजिक फासिवादी सरकार’ को संज्ञा दिएको छ । ओली सरकारले राजनीतिकर्मी, लेखक, साहित्यकार, कलाकार, कविहरूलाई पक्राउ गर्ने, झुट्टा मुद्दा लगाउने र चरम यातना दिने गरेको छ । सरकारले कवि–कलाकारहरूलाई पक्राउ गरेर कालोपट्टी लगाएर सहर घुमाउने, घर तथा सेल्टरको खानतलासी लिने काम गरिरहेको छ । कविता, नाटक, गीत आदि लेख्न र प्रस्तुत गर्न प्रतिबन्धित छ । यो सरकारले लेखक–साहित्यकारहरूलाई हतकडी लगाउने, कार्यालयबाटै गिरफ्तार गर्ने, माक्र्सवादी पुस्तकहरू जफत गर्ने काम गरिरहेको छ । कविहरू कविगोष्ठीमा सहभागी हुने अवस्था छैन, नाटककारहरू नाटकघरसम्म पुग्न पाउँदैनन् । नेपालको लोकप्रिय साङ्गीतिक टोली सामना सांस्कृतिक परिवारले आफ्नै मौलिक शैलीमा जनताका बिच आफ्नो साङ्गीतिक प्रस्तुति दिइरहेको छ । ओली सरकारले नेपालका चर्चित एवम् लोकप्रिय गीतकार–सङ्गीतकार एवम् अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष माइला लामालाई जेलमा राखेको छ । हामी यसै अपिलमार्फत माइला लामालगायत सम्पूर्ण राजबन्दीको यथाशीघ्र रिहाइको जोडदार माग गर्दछौँ ।

आदरणीय संस्कृतिकर्मीहरू !
टर्कीमा ‘सत्यबारे गाउन पाउने अधिकार’ को सङ्घर्षका दौरान अनसनका क्रममा क्रान्तिकारी साङ्गीतिक ब्यान्ड ‘ग्रुप योरम’ को सदस्यहरू हेलिन बोलेक र इब्राहिम गोसेकको निधन भएकोमा हामी स्तब्ध भएका छौँ । यो साङ्गीतिक ब्यान्डलाई टर्किस सरकारले चार वर्षदेखि निरन्तर दमन गर्दै आएको थियो । उसले कार्यालय र कार्यक्रमस्थलमा छापा मार्ने, बिनाकारण पक्राउ गर्ने र यातना दिने गरिरहेको थियो । हेलिनहरूले बलिदानमार्फत् विचारको, प्रतिबद्धताको र सपनाको झन्डालाई माथि उठाउनुभएको छ । भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवादी जगजगीको यतिबेला उहाँहरूको प्रतिरोध, साहस, प्रतिबद्धता, बलिदानले सर्वोच्च शिखर चुमेको छ । मूल्य र आदर्शको स्खलनको यति डरलाग्दो अवस्थाका बिचमा पनि बलिदानीपूर्ण मार्गलाई उहाँहरूले हाँसीहाँसी पछ्याउनुभएको छ । जनताका आवाज बोल्ने कलाकारमाथि गरिएको यस प्रकारको दमनका विरुद्ध हामी टर्किस सरकारको घोर भत्र्सना गर्दछौँ । गहिरो समवेदनाका साथ हेलिन बोलेक र इब्राहिम गोसेकको बलिदानको उच्च सम्मान पनि गर्दछौँ ।
हामी यस्तो देशमा सङ्घर्ष गरिरहेका छौँ, जहाँ प्रधानमन्त्रीको जन्म दिनमा हेलिकप्टरले नेपालको नक्सासहितको केक ओसार्छ, पसिना गन्हाउने भन्दै श्रमजीवी जनतालाई नजिक पर्न दिइँदैन । देशको राष्ट्रपतिलाई कोदोबारी देखाउन हेलिकोप्टर चार्टर गरिन्छ । बडेबडे ‘कम्युनिस्ट’ नेताहरू भैँसीपूजा गर्छन् । कतिपय भारतीय जनता पार्टीको जन्म दिनमा कोरोनासित लड्ने भन्दै मैनबत्ती–दियो बाल्नुलाई गौरव ठान्छन् । यहाँका शासक अन्तर्राष्ट्रिय खेलाडीलाई बिनाड्रेस दालमोठ–चिउरा खुवाएर खेल्न पठाउँछ र आफू भने सीआईएका औतारीहरूलाई बोलाएर होलीवाइनको महाभतेर चलाउँछ । यो सत्ता आत्म–प्रशंसाको यति भोको छ कि ऊ लेखक–कलाकारलाई गीतिदास बनाउन चाहन्छ । यो सत्ता आफ्नो लुटको स्वर्ग जोगाउन असङ्ख्य झुटका पुलिन्दा बुनिरहेछ । इतिहासको यस घडीमा हामी फासिवादी शासकको यस्तो मनसुवालाई पूरै खारेज गर्दछौँ । देश र जनताका विरुद्ध बुनिएका झुटका पुलिन्दाको भण्डाफोर गर्न आह्वान् गर्दछौँ ।

मानवसभ्यता, मानवसमाज, मानव संस्कृति जेजस्तो रूपमा यहाँसम्म आइपुगेको छ; यो बलिदान, आँसु, पीडा, अपमान, असहयोग, अन्याय, अत्याचारको अकल्पनीय क्षणहरूद्वारा निर्मिति रूप हुन् । जेसुकै नारामा र जेसुकै सन्दर्भ भए पनि ठुला ठुला बलिदानको मूल्य जनताले नै चुक्ता गरे पनि सत्तामा जनताका दुश्मन र लुटेराहरू नै छन् । कानुनका धारा–उपधारा बनाउने पनि तिनै छन् । हुन त बगरेहरूले आफ्नो पेसालाई नै धराप पार्नेगरी कसरी कानुन बनाउन सक्थे र ? आज जनता आफ्नै बगैँचाको फूल टिप्न पाउँदैनन् । आज माइला लामाहरू खुला आकाशमा विचरण गर्न पाउँदैनन् । आज इच्छुक, चुनु, च्याङ्बा, शारदाहरूका कविता, गीत र नृत्य प्रतिबन्धित छन् ।

आदरणीय संस्कृतिकर्मीहरू !
प्रतिक्रियावादी–दक्षिणपन्थी हावाहुन्डरी मडारिइरहेको यतिबेला नेपालमा नियमितता र आकस्मिकताका परिघटना देखापरिरहेका छन् । जनयुद्धको जगमा उठेको जनआन्दोलनबाट प्राप्त उपलब्धि धरापमा पारिएका छन् । प्रतिक्रियावादीहरू नेपालका सबै किसिमका वर्गसङ्घर्ष, तिनमा जनताबाट अभिव्यक्त त्याग, समर्पण र बलिदानी मूल्यका विरुद्ध षड्यन्त्र गरिरहेका छन् । मरणासन्न, राष्ट्रघाती तथा जनघाती एकाधिकार दलाल पुँजीवादी संसदीय व्यवस्थाका मतियारहरूका गतिविधिले सीमा नाघिसकेको छ । उनीहरू नेपालमा क्रान्तिकारी विचार, सपना र सम्भावनाको मुना निमोठ्न ज्यान छाडेर लागेका छन् । जनताको भौतिक–सङ्घर्षसित वैचारिक–सांस्कृतिक सङ्घर्ष अन्योन्याश्रित हुन्छन् । हामी त्यसैको बलमा वैज्ञानिक समाजवादको स्थापनाको सहिदी सपनालाई पुँजीकृत गर्न चाहन्छौँ ।
भारतमा फासिवादी मोदी सरकारको उद्दण्डता बढ्दो छ । उसले नेपालको चौबीस जिल्लाका करिब साठी हजार हेक्टर बढी जमिन अतिक्रमण गरेको छ । उसले हालसालै नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा नेपाली भूमिमाथि अनधीकृत रूपमा मानसरोवर राजमार्ग बनाएर उद्घाटन पनि गरिसकेको छ । भारतीय साम्राज्यवादको यस प्रकारको हस्तक्षेपका विरुद्ध नेपालमा सशक्त प्रतिरोध भइरहेको छ । हामी यो प्रतिरोधको उच्च प्रशंसा गर्दछौँ । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको आफ्नो वास्तविक भू–भाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि भारतले नेपाल र नेपाली जनताका विरुद्ध, नेपाली जनयुद्ध र नेपाली जनताको देशभक्तिका विरुद्ध विषवमन गरिरहेको छ । भारतको यस प्रकारको निकृष्ट हर्कतप्रति हाम्रो घोर आपत्ति छ । नेपाली राष्ट्रियताप्रति नेपाली जनताको लगाव धेरै उच्च र पवित्र छ । भारतले नेपाल र नेपाली जनतालाई मात्र दुःख दिएको छैन, उसले आफ्नै देशका वरिष्ठ लेखक तथा बुद्धिजीवीहरूलाई पक्राऊ गरिहेको छ, यातना दिइराखेको छ । जनताका पक्षमा लेख्ने तथा बोल्ने जो कोहीलाई पनि भारतीय सरकारले देशव्यापी धरपकड गरिरहेको छ । हाम्रो सङ्गठन मोदी सरकारको यस प्रकारको फासिवादी रवैयाको घोर भत्र्सना गर्दै वरवर रावलगायत सबैको यथाशीघ्र र स–सम्मान रिहाइको माग गर्दछ ।
नेपालमा अढाईसय वर्षदेखि जनताको रगत पिउँदै र हड्डी चुस्दै आएका जनबैरीहरू नयाँ नयाँ आबरणमा नयाँ नयाँ फन्डा गरिरहेका छन् । यो फन्डाको पछिल्लो संस्करण केपी ओलीको हातसम्म आइपुगेको छ । यतिबेला केपी ओली लकडाउन र नयाँ नक्साको वैशाखी टेकेर अमेरिकी सैन्य रणनीति एमसीसी पारित गराउन मरिहत्ते गरिरहेका छन् । केपी ओलीले देश र जनताका दुश्मनका रूपमा आफूलाई ‘सगौरव’ उभ्याएका छन् । यस्तो बेला जनताका सबैखाले दुश्मनलाई परास्त गर्न क्रान्तिकारी ध्रुबीकरण अनिवार्य बन्न गएको छ । क्रान्तिकारी शक्तिहरूका बिचमा एकता अपरिहार्य बनेको छ । नयाँ शिरा र नयाँ संरचनाका साथ क्रान्तिकारी संयुक्त मोर्चा आजको टड्कारो आवश्यकता बनेको छ । सहिदहरूका रगतले लेखेको इतिहास, उनका जीवनोत्सर्ग, आस्था, बलिदानको सपना र वैचारिक निष्ठाले प्रतिरोध संस्कृति, त्याग, बलिदान र वर्गसङ्घर्षको संस्कृतिको निरन्तरताको आवश्यकतालाई नै इङ्गित गरेको छ । हामीलाई फेरि एकपटक शौर्य, साहस र वीरताको यौद्धिक–गायन चाहिएको छ । फेरि एकपटक कुची, कलम र मादलसित वर्गीय विचार, आस्था र सघन वर्गसङ्घर्षको अन्तर्घुलनको आवश्यकता परेको छ । कृष्ण सेन ‘इच्छुक’ सहित एकसय सत्तरी बढी सांस्कृतिक सहिदहरू हाम्रा प्रेरणा, गौरव र सचेतना भएर उभिएका छन् । महान्् सांस्कृतिक सहिदहरूले हामीलाई भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवादका विरुद्ध महान् सर्वहारा सांस्कृतिक क्रान्तिमा लामबद्ध हुन प्रेरित गरिरहेका छन् ।
आदरणीय संस्कृतिकर्मीहरू !
सहिदहरूका रगतद्वारा लेखिएको इतिहास कसैले मेट्न सक्तैन । वर्गसङ्घर्षभित्रका एकाध मानिस पलायनतावादी भागदौडमा सामेल हुँदै लम्पसारवादी आत्मकेन्द्रित अवसरवादको आहालमा चुर्लुम्म डुबे पनि हाम्रो आस्थाको प्रतीक प्रिय रातो झन्डा कहिल्यै झुक्नेछैन । फासिवादी दलालहरूका विरुद्ध लड्ने क्रान्तिकारी संस्कृतिलाई कुनै पनि हालतमा कमजोर हुन दिइनेछैन । मरणासन्न राष्ट्रघाती तथा जनघाती दलाल संसदीय पुँजीवादी व्यवस्थाका विरुद्धको सङ्घर्षमा सहभागी हुन हामी सबैलाई विशेष आह्वान गर्दछौँ । एकीकृत जनक्रान्तिको महान् यात्रामा वर्गचेतना, वर्गप्रेम, साम्यवादी सपना र शौर्यका साथ सम्पूर्ण क्रान्तिका पक्षधर कवि, कलाकार, लेखक–साहित्यकार र संस्कृतिकर्मीहरूलाई वैज्ञानिक समाजवादको दिशामा लामबद्ध हुन हाम्रो सङ्गठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घ विशेष अपील गर्दछ ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु