आजबाट माइक्रोबस चालक र सहचालकलाई फ्लोरेसेन्ट ज्याकेट अनिवार्य

२०७५ मंसिर १ गते, शनिबार

काठमाडौं, १ मंसिर । काठमाडौं उपत्यकामा सञ्चालित माइक्रो बसका चालक र सहचालकले पनि आजबाट चम्किलो देखिने फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगाउनु पर्ने भएको छ । चालकलाई सुन्तला रंगको र सहचालकलाई हरियो रंगको ज्याकेट लगाउनुपर्ने नियम छ । हाल काठमाडौं उपत्यकाभित्र मात्र यो व्यवस्था गरिए पनि आगामी दिनमा देशभर लगाउनुपर्ने व्यवस्था गर्ने ट्राफिक महाशाखाको तयारी छ । महाशाखाका तत्कालीन प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालको पालामा फ्लोरेसेन्ट ज्याकेट लगाउने नियम बनाइएको थियो । तर, त्यसको कार्यान्वयन भएको थिएन । महानगरीय ट्राफिक प्रहरी महाशाखामा बसेको सरोकारवालाहरुको संयुक्त बैठकले आजदेखि अनिवार्य रुपमा माइक्रोबस चालक र सहचालकले फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने निर्णय गरेको थियो ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तका अनुसार फ्लोरेसेन्ट ज्याकेटले चालकको पहिचान हुने, रातिको समयमा टाढैबाट चम्किलो देखिने र चालकका बारेमा सेवाग्राहीलाई केही गुनासो भए उजुरी गर्नसमेत सजिलो हुने भएकाले यस्तो निर्णय गरिएको जानकारी दिए । हाल ट्याक्सी चालकहरुले भने फ्लोरेसेन्ट ज्याकेट लगाउँदै आएका छन् । आगामी दिनहरुमा ठूला सवारीसाधनका चालक तथा सहचालकलाई समेत क्रमशः ज्याकेट लगाउने व्यवस्था गर्ने महासचिव सिटौलाको भनाइ छ ।

प्रतिक्रियाहरु