विराटनगरस्थित भारतीय फिल्ड कार्यलय बन्द

२०७५ जेष्ठ ८ गते, मंगलवार

काठमाडौं, ८ जेठ । भारतले नेपालको अनुमतिबिना राखेको विराटनगरस्थित भारतीय फिल्ड कार्यलय बन्द हुने भएको छ । नेकपाले सो कार्यालय हटाउन एक महिनाको समय दिएको थियो । सो चेतावनी पूरा भएपनि नहटेपछि फेरि बम हान्ने सुइको पाएपछि भारतले हतार हतारमा सोमबार कार्यालय बन्द गरेको घोषणा गरेको छ । कोशीमा आएको बाढीलाई बहाना बनाएर भारतले २०६५ भदौ २ गते अनुमति नलिएरै फिल्ड कार्यालय स्थापना गरेको थियो । त्यति बेलादेखि नै उक्त कार्यालय हटाउन माग गर्दै विभिन्न विरोध र संघर्षका कार्यक्रम जारी छन् ।
भारतले दादागिरी गरेर विराटनगरमा अनुमति नलिएरै कार्यालय राखेर राष्ट्रियतामाथि हस्तक्षेप गरेको भन्दै विरोधमा उत्रिरहेको नेपाल कम्युनिस्ट पार्टीले सडक संघर्ष जारी राखेको छ । बैशाख ३ गते कार्यालय हटाउन चेतावनीस्वरुप कार्यालय बम विस्फोट भएको थियो । सोही आरोपमा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तालाई प्रहरी गिरफ्तार गरेर मुद्दा लगाएको छ ।
यसअघि पूर्व माओवादी नेता नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री हुँदा कार्यालय हटाउन पत्र काटेपनि भारतले अटेर गरिरहेको थियो । तर, कार्यालयमै बम विस्फोट हुन थालेपछि भने भारत झस्केको थियो । कार्यालय नहाटएको भए एक–दुई दिनभित्रै संघर्षको अर्को रुपको सुरुवात गर्ने योजना रहेको नेकपाका एक नेताले बताए ।

प्रतिक्रियाहरु