देशभर लोडसेडिङ अन्त्य भएको विद्युत प्राधीकरणको दावी

२०७५ बैशाख ३१ गते, सोमबार

काठमाडौं, ३१ बैशाख । नेपाल विद्युत प्राधीकरणले आजदेखि देशभर लोडसेडिङ अन्त्य भएको दाबी गरेको छ । औद्योगिक क्षेत्रमा गरिँदै आएको तीनघण्टे लोडसेडिङ आजबाट अन्त्य गरिएको र योसँगै अब मुलुक लोडसेडिङमुक्त भएको प्राधीकरणले घोषणा गरेको हो । खोला र नदीमा पानीको वहाव बढेसँगै रन अफ रिभर आयोजनाको उत्पादन बढेको, अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक संचालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग बिजुली भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिएका हुन् । अहिले हिउँदमा भन्दा १२ देखि १५ प्रतिशतसम्म बिजुली उत्पादन बढेको प्राधीकरणले जनाएको छ । चुहावट पनि ६ प्रतिशत घटाएकाले बिजुलीको माग धान्न सहज भएको जनाइएको छ । १५ वर्षपछि लोडसेडिङ सकिएको प्राधीकरणले जनाएको छ । सन् २००३ मा शुरु भएको लोडसेडिङ दैनिक १८ घण्टासम्म पुगेको थियो ।
प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएपछि कुलमान घिसिङको प्रयत्नमा २०७३ सालको तिहारको लक्ष्मीपूजाका दिनबाट काठमाडौं उपत्यकालगायत मुख्य शहरमा लोडसेडिङमुक्त भएको घोषणा गरिएको थियो । प्राधीकरणले विभिन्न कारणले केहीबेरका लागि बिजुली गए पनि त्यो लोडसेडिङ नभएको प्रष्ट्याएको छ । यस्तै विद्युत प्राधिकरणले विजुलीको माग धेरै हुने बिहान र बेलुकाको सयममा सकेसम्म कम बिजुली खपत गर्न अनुरोध पनि गरेको छ । उपभोक्ताको सहयोगमा मात्र लोडसेडिङ अन्त्य गर्न सकिने भएकाले प्राधीकरणको अभियानमा सघाउन कार्यकारी निर्देशक घिसिङले अपील पनि गरेका छन् ।

प्रतिक्रियाहरु