आजवाट २० वर्ष पुराना गाडी संचालनमा पूर्ण प्रतिवन्ध

२०७४ चैत्र १ गते, बिहीबार

काठमाडौं, १ चैत । सरकारले आजबाट २० वर्ष नाघेका सार्वजनिक यातायातका साधनलाई पूर्णप्रतिवन्ध लगाएको छ । आजदेखि २० वर्ष पुराना गाडी चलाएको पाइएमा जफत गरी कवाडीमा लिलाम गरिने यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए । देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधनका कारण वायु प्रदूषण र सवारी दुर्घटना समेत बढ्न थालेपछि चैत १ गतेदेखि हटाउने निर्णय गरिएको हो ।
हाल देशभर २० वर्ष पुराना सवारी साधन साढे पाँच हजार रहेको विभागको अनुमान छ । विभागले गत वर्ष फागुनदेखि नै काठमाडौं उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाउने प्रयास थालेको थियो । तर, पूर्णरुपमा कार्यान्वयनमा आएको थिएन । त्यसैले नियमावली संशोधन गरेर गत वर्ष कात्तिकमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी २०७४ फागुन मसान्तसम्म देशभर रहेका २० वर्ष पुराना सवारी साधन हटाउने निर्णय गरिएको हो । विभागले २० वर्ष पुराना ट्याक्सी र विद्युतीय सवारी साधन भने गुड्न दिइने जनाएको छ । विद्युतीय टेम्पो हाल उपत्यकामा ६०० र उपत्यका बाहिर २०० को हाराहारीमा रहेको अनुमान छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु