सत्तारुढ दल नै संविधान संशोधनको विपक्षमा

२०७३ पुष २३ गते, शनिबार

काठमाडौं, २३ पुस । सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टी संविधान संशोधनको विपक्षमा उत्रिएको छ । सो अध्यक्ष कमल थापाले मुख्य दलबीच समझदारी नबनाई संविधान संशोधन विधेयक अघि बढाउन नहुने बताएका छन् । रिपोर्टर्स क्लबका प्रतिनिधिको ज्ञापनपत्र शुक्रबार बुझ्दै अध्यक्ष थापाले दलबीच समझदारी नबनाईकन संविधान संशोधन विधेयक अघि बढाउन नहुनेमा जोड दिएका हुन् । ‘संशोधन प्रस्ताव विषयमा अहिलेसम्म पनि राप्रपासँग कुनै छलफल भएको छैन,’ थापाले भने,‘यथास्थितिमा हाम्रो पार्टी यो विधेयकको समर्थन गर्दैन, प्रस्तुत विधेयक ल्याउँदा सत्ता पक्षको हैसियतले हामीसँग कुनै छलफल नै गरिएको छैन ।’ थापाले पहिले छलफल नभए पनि विधेयक ल्याएको एक महिनासम्म आफूहरूले पटकपटक आग्रह गर्दासमेत राप्रपासँग एकपटक छलफल नगरिएको गुनासो गरे । ‘विधेयक पास गराउन राप्रपालाई कुनै नैतिक बन्धन छैन,’ उनले भने, ‘यसमा हामीलाई नैतिक बन्धन छैन, तर हामी सकारात्मक रूपमा सहयोग गर्छौं ।’
सीमांकन विषयमा ५ नम्बर प्रदेशका जनता आन्दोलित भएको, एमालेलगायतका विपक्षी दलले संसद् अवरुद्ध गरिरहेको तथा विधेयकका केही दफा राष्ट्रिय हितअनुकुल नरहेको औंल्याउ“दै उनले नयाँ शिराबाट समझदारी कायम गरेर मात्र अघि बढ्न सकिने भएकाले त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गरे ।
‘सर्वोच्च अदालतको आदेशले संसद्मा संविधान संशोधन विधेयकबारे छलफल गर्ने ढोका खुलेको छ,’ नेता थापाले भने, ‘त्यो कानुनी मात्रै नभएर राजनीतिक विषय पनि भएकाले छलफल गरेर अघि बढ्नु नैबुद्धिमानी हुनेछ ।’
संविधान संशोधन विधेयकमा एक महिनाभित्रै समझदारी कायम गर्न सर्वपक्षीय उच्चस्तरीय संयन्त्र निर्माण, विषयवस्तुमा समझदारी नभए प्रक्रियामा जाने, अवरुद्ध संसद् तत्काल सुचारु गरेर निर्वाचनसम्बन्धी विधेयकलाई प्राथमिकताका साथ अघि बढाउने र निर्वाचन मिति घोषणा तथा सबै राजनीतिक दलले निर्वाचनमा भाग लिने प्रतिबद्धता व्यक्त गर्नेलगायतका बुँदा पनि अघि सारिएका छन् ।
यसैबीच, अध्यक्ष थापाको अध्यक्षतामा शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समिति बैठकले आगामी महाधिवेशनमा समावेशी अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ । विधान संशोधन समिति संयोजक बुद्धिमान तामाङले पेस गरेको प्रस्तावमाथि छलफल गर्दै पार्टीलाई समावेशी ढंगले अघि बढाउनेबारे छलफल भएको राप्रपा प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठकमा संविधान संशोधन, तीन तहको निर्वाचन र मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । राप्रपा महाधिवेशन आगामी ६ देखि ९ फागुनसम्म राजधानीमा हुने तय भइसकेको छ ।

प्रतिक्रियाहरु