सारङ्गी रेटेरै बित्यो ३७ वर्ष

२०७३ मंसिर ४ गते, शनिबार

काठमाडौं, ४ मंसिर ।
‘आयो गयो फेरियो व्यवस्था । आफ्नो भने उस्तै छ अवस्था ।।
कल्ले के गर्छ ? पायसी सबैले आफ्नै पेट भर्छ ।।
गुल्मीको वडागाउँ घर बताउने ५७ वर्षीय दिलबहादुर गन्धर्वले सारङ्गी रेट्दै यो गीत गाउँदा म्याग्दीको बगरफाँटका गाउँलेका आँखा रसाए । चार छोरी, एक छोरा, श्रीमती र आफ्नो हातमुख जोड्नका लागि सारङ्गी रेट्दै म्याग्दी आइपुगेका गन्धर्वले गीतमार्फत आफ्नो दुःखेसो पोख्दै सहयोगका लागि हात जोडेको देखेर बगरफाँटकी गोमादेवी शर्माले एक सय रुपैया र तीन माना चामल दिँदा गन्धर्वको अनुहार खुसीले भरियो ।
सूचना र संचारको पहुचसँगै ग्रामीण क्षेत्रमा समेत पाश्चात्य गीत सङ्गीतको प्रभाव बढ्दै गइरहेको बेला कहिलेकाहीँ गाउँघरमा डुल्दै आउने र सारङ्गी रेटेर विरहका भाका गाउने गन्धर्व हिजोआज देशको बिग्रँदो राजनीति र सामाजिक बेथितिका गीतसमेत गाउन थालेका छन् ।
बदलिँदो समयसँगै नयाँ पुस्ता पाश्चात्य गीत सङ्गीतमा झुल्न थालेपछि हो वा पुख्र्यौली पेसाबाट गुजारा नचल्ने अवस्था देखेर हो आजभोलि गाउँघरमा गाइने दाइको नामले चिनिने गन्धर्व क्रमशः घट्दै गइरहेका छन् । गाउँघरका विरह र वेदनाका भाका गाउने गन्धर्वले बदलिँदो समयसँगै आफ्नो गीतको स्वरुपलाई पनि परिवर्तन गरेका छन् ।
धेरै समयपछि बगरफाँटमा भेटिएका दिलबहादुर गन्धर्वले पनि अरू कुनै सीप नभएकाले पुख्र्यौली पेसालाई विगत ३७ बर्षदेखि अपनाउनु आफ्नो बाध्यता भएको दुःखेसो पोख्दै सारङ्गीको धुनमा देशको बिग्रँदो अवस्था र नेताको स्वार्थका बारेमा तीतो यथार्थ व्यक्त गरे ।
गुल्मीदेखि बागलुङ हुँदै म्याग्दीको बगरफाँटसम्म आइपुगेका उनले गीतमा संविधान कार्यान्वयनका कुरादेखि लिएर गणतान्त्रिक नेपालको अस्तव्यस्ततालाई सरल शब्दमा जनताले बुझ्नेगरी व्यक्त गरेका थिए ।- रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु