छोरी मान्छे – इन्द्र थेगिम

२०७३ कार्तिक २८ गते, आईतवार

खित्तिति उदांङ्गै मुख खोली नहांस् ।
जामा ह्वाङ्ग पारेर फिला देखाएर नबस् ।
शरम् गर्न सिक्नुपर्छ बुझिस् ।
तं त केटि मान्छे होस् ।
पंधेरो धाउन नपरे पनि
सबेरै उठेर मटिया गाग्रोमा पानी भर् ।
दियो, कलश, ल्होटा माझेर आंगन बढार् ।
धैर्य गर्न सिक्नु पर्छ सुनिस् ।
तं अर्काको घरमा जाने जात् ।
किन पर्यो साथी संङ्गी को हुलमा बांधिन ?
तेरो भाइ त लोग्नेमान्छे ,
बंश जोगाउन डुल्छ, हिंड्छ, मर्छ, मार्छ ।
होस पुर्याएर बोल्न सिक् ।
तं त छोरी मान्छे होस् ।
केटी देखि
छोरीमान्छे हुंदासम्म
म एक यस्तो प्राणी,
जो उड्न अगावै
पंख काटिएकी,
बोल्न अघि
जोब्रो थुतिएकी,
आमाले बर्षौं देखि सदाएकी,
समाजले त्यसै त्यसै तर्साएकी,
आफ्नैबाट हेपिएकी,
हिनताबोधले ग्रस्त,
म एक यस्तो प्राणी ,
फगत एक्लो “छोरीमान्छे” ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु