मन्त्रीको पासोमा प्रधानमन्त्री

२०७३ श्रावण २९ गते, शनिबार

काठमाडौं, २९ साउन । प्रधानमन्त्री प्रचण्डले परिणाम देखिने गरी र सवैले सम्झने गरि आफूले काम गर्ने बताइरहेका छन् ।एमाले अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व लिएकै दिन आफूसँग समय कम भएको बताएजस्तै प्रचण्डले पनि समय कम भएकाले रातदिन खटेर जनताको पक्षमा काम गर्ने पदवहालीकै क्षणमा गरे । तर, उनले अझै मन्त्रिपरिषदलाइृ पूर्णता त के सरकारमा रहेका प्रमुख दुई दलबाटै मन्त्री बनाउन सकिरहेका छैनन। १९ साउनमा प्रधानमन्त्री निर्वाचित भई २० साउनबाट काम थालेका प्रचण्डले मन्त्रीको अभावमा आफूले चाहेको गतिमा काम गर्न सकेका छैनन् ।
प्रचण्डले प्रधानमन्त्रीको शपथ लिएकै दिन दुई उपप्रधानसहित ६ सदस्यीय मन्त्रिमण्डढल गठन गरेका थिए । त्यसपछि प्रधानमन्त्रीले गत मंगलबार थप तीन विनाविभागीय मन्त्री थपेका छन् ।
मन्त्रिपरिषदलाई पूर्णता दिएर अघि बढ्न खोजे पनि उनले प्रमुख सत्तासाझेदार दल कांग्रेसबाट मात्र होइन, आफ्नै पार्टी माओवादी केन्द्रबाट पनि सरकारमा सहभागी हुने व्यक्तिको टुंगो लगाउन सकेका छैनन् । दुवै पार्टीमा आकांशक्षी धैरै हुँदा मन्त्रीको टुंगो लाग्न नसकेको हो ।
पार्टीभित्रको गुटबन्दीको असर सरकार गठनमा पनि देखिएको छ । गुटसँगै कमाउ मन्त्रालय सबैको प्राथमिकतामा पर्दा मन्त्रीको टुंगो लगाउन दुबै दलका नेतृत्वलाई मुस्किल परेको हो ।
कांग्रेसले नेविसंघको महाधिवेशनको नाममा मन्त्री पठाउन नसकिएको जनाउँदै आएको छ । तर पार्टी भित्रेको आन्तरिक समस्याका कारण कांग्रेसले मन्त्री छान्न सकेको छैन । माओवादीमा पनि मन्त्रीको आकांक्षी दुई दर्जनभन्दा धेरै हुदा प्रधानमन्त्री प्रचण्ड अलमलमा परेका छन् ।- राजधानी दैनिकबाट

प्रतिक्रियाहरु