नेविसङ्घको बन्द सत्रले आजबाट निरन्तता पाउने

२०७३ श्रावण २७ गते, बिहीबार

काठमाडौँ, २७ साउन । नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनले आजबाट निरन्तता पाउने भएको छ । आइतबारको औपचारिक उद्घाटनपछि अवरुद्ध बन्दसत्र कार्यक्रम आजबाट सुरु हुने भएको छ । कतिपय जिल्लामा समान्तर कमिटी गठन गरिएको र महाधिवेशन प्रतिनिधि छनोटमा विवाद देखाउँदै छुट्टाछुट्टै विद्यार्थी समूहले आमरण अनशन जारी राखेपछि महाधिवेशन उद्घाटनपछिको अन्य अनौपचारिक कार्यक्रम स्थगित गरिएका थिए । तीन दिनसम्मको लगातार छलफल र वार्तापछि असन्तुष्ट पक्षहरू सहमतमा आएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं महाधिवेशन निर्देशन समितिका संयोजक डा. प्रकाशशरण महतले बताए ।
असन्तुष्ट पक्षसँगको वार्ता मिलेपछि बुधबारबाट नै निर्देशन समितिले महाधिवेशन सञ्चालन गर्न निर्देशन दिएको हो तर महाधिवेशन आयोजक कमिटीका संयोजक एवं सङ्घका अध्यक्ष रञ्जित कर्णले प्रतिनिधि पास बनाउन समय लाग्ने भएकाले बिहीबार मात्र सुरु गर्ने बताए । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार दिउँसो उपचारका क्रममा ओम अस्पताल र मोडेल अस्पतालमा भर्ना गरिएका दुुई जना विद्यार्थीलाई जुस खुवाएर अनशन तोडाएका थिए । उनिहरूले अनशन तोडेसँंगै महाधिवेशनको अन्य कार्यक्रम अगाडि बढाउन बाटो खुलेको छ ।
वार्ता पनि मिल्यो, अनशन पनि तोडे, संयोजक महतले भने , “मैले त बुधबारबाट नै सुरु गरौँ भनेको थिएँ तर प्राविधिक कारणले हुन सकेन । विवादित जिल्लाको समान्तर कार्य समितिलाई यथावत् राखी महाधिवेशन प्रतिनिधि बढाउने सहमति भएको छ । ”
सोही सहमति अनुरूप तीन हजार चार सय ५० जना महाधिवेशन प्रतिनिधि थप बढ्ने देखिन्छ ।
आज बिहान पास वितरण गर्ने, बन्द सत्र सञ्चालन गर्ने र मतदाता नामावली प्रकाशित गर्ने कार्यक्रम रहेको छ । सम्भवतः शुक्रबार नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्ने कार्यक्रम राखिएको छ ।

प्रतिक्रियाहरु