निरन्तरको अनुसन्धानबाटै छाला रोग विशेषज्ञ

२०७३ श्रावण १५ गते, शनिबार

काठमाडौँ, १५ साउन । एक समय जडीबुटी सङ्कलनमा दैनिक घन्टौं बिताउँदा मानसिक सन्तुलन गुमाएको भन्दै अस्पतालन लान ठिक्क पारिनु भएका रुपा शाह अहिले छाला रोग विशेषज्ञ रुपमा परिचित हुनुहुन्छ ।
धादिङको विकट गाविस मानिने ज्यामरुङमा जन्मनुभएको शाहले विगत ३५ वर्षदेखि स्वदेशमा पाइने विभिन्न किसिमका जडीबुटी सङ्कलन गरेर छालासम्बन्धी रोगको सफल उपचार गर्दै आउनुभएको छ ।
“सात वर्षको उमेरदेखि आफ्नो घर वरपर पाइने विभिन्न किसिमका जडीबुटी सङ्कलन गरेर समय बिताउनु मेरो सोखनै थियो, जडीबुटी सङ्कलन गरेर कोठामा एक्लै बसेको देख्दा परिवारको सदस्यले मानसिक रोगी भन्दै अस्पताल लान तयार भएका थिए जुन मेरो भावना विपरीत थियो,” शाहले आफ्ने विगत सम्झनुभयो ।
दाद, चायाँपोतो, डन्डिफोर, छालाको चउरीपनालगायत छालासम्बन्धी सम्पूर्ण रोगको उपचार गर्दै आउनुभएको उहाँले हालसम्ममा ५० हजारभन्दा बढी छालाका रोगीको सफल उपचार गरिसक्नुभएको छ ।
आफ्ना कार्यप्रति सन्तुष्ट हुँदै उहाँले भन्नुभयो, “लामो समयको अनुसन्धानपछि अहिले सफलता मिलेको छ, बाहिर कुनै प्रचारप्रसार नगरे पनि व्यक्तिगत सम्पर्ककै भरमा आफ्ना उत्पादन बेचेर राम्रो आम्दानी गर्दै आएकी छु ।”
उहाँले धादिङ, दोलखा, गोरखा, सुर्खेत, लमजुङ, तनहुँलगायत जिल्लाको हिमाली भेगबाट औषधिजन्य जडीबुटी सङ्कलन गरेर बूढानिलकण्डमा उत्पादन केन्द्र खोल्नुभएको छ । शाहले कान्तिपथमा रहेको मुक्तिनाथ हर्वल र चक्रपथस्थित अष्ठलक्ष्मी पारिजात मुक्तिनाथ दुवैलाई औषधिको बिक्री केन्द्र बनाई बिरामीलाई सेवा दिँदै आउनुभएको छ ।
यी प्रत्येक जिल्लामा जडीबुटी सङ्कलनको लागि कामदार समेत राख्नुभएको शाहले काडमाडौँ र बाहिरी जिल्लामा गरी ३५ जनालाई रोजगारी दिनुभएको छ । जाडोको समयमा जडीबुटी खोज्नु पर्ने भएकाले उक्त समयमा थप कामदारको आवश्यकता पर्ने गरेको छ ।
काम गर्ने जागर भए धेरै सम्भावना नेपालमै छ भन्दै उहाँले कामको खोजी गर्दै विदेश जाने युवायुवतीलाई स्वदेमानै काम गर्न अनुरोध गर्नुभयोे । आफ्नो पूरै जीवन अनुसन्धानमा बिताउनुभएका शाहलले मासिक रु तीन लाख आम्दानी गर्दै आउनुभएको छ ।
आफूले कसैसँग पनि सहयोग नपाएको गुनासो सुनाउँदै शाहले भन्नुभयो, “सहयोग गर्ने कोही नभए पनि इच्छा देखाएर आउनेका लागि सहयोेग गर्न चाहन्छु ।”
उहाँले बैद्यखानामार्फत आफ्नो उत्पादनलाई बिक्री वितरण गर्ने आफ्नो इच्छा भएको बताउँदै भन्नुभयो, “वैद्यखानामार्फत मेरो अनुसन्धानका उपज सबैमा पु-याउने प्रवन्ध गरीदिए मेरो अनुसन्धानको मूल्याङ्कन हुने थियो ।”
सङ्घर्षबाटै सफलता चुम्नुभएकी शाह अहिले पनि हरेक समय नयाँनयाँ खोज र अनुसन्धानमा नै आफूलाई व्यस्त बनाउन चाहनुहुन्छ । आफूले गरेका उपचारबाट बिरामी सतप्रतिशत सफल भएपछि प्राप्त खुसी र आनन्द नै मेरा लागि जीवनको ठूलो सफलता भएको उहाँ बताउनुहुन्छ । अबको दुई महिनाभित्रमा उहाँले अर्को नयाँ औषधि बजारमा ल्याउने तयारी गर्नुभएको छ ।
“बाबुआमालाई आफ्नो सन्तानले राम्रो प्रगति गर्दा जस्तो खुसी मिल्छ, त्यही खुसी बिरामीको सफल उपचारपछि मलाई मिल्ने गरेको छ” शाहले भन्नुभयो । नेपालमा धेरै थरीका जडीबुटी छन् त्यसको खोज र अनुसन्धान गरी सही उपयोग गर्नसके आर्थिक आर्जन र औषधि दुवै प्राप्त गर्न सकिने भएकाले त्यसतर्फ ध्यान दिन उहाँले सरकारलाई अनुरोध गर्नुभयो ।
खेर गएका कयौँ जडीबुटीको व्यवस्थापनको लागि सरकारले सबैभन्दा पहिला जनचेतना जगाउने र त्यसको महत्वबारे सर्वसाधारणलाई जानकारी दिनुका साथै ठूलाठूला उद्योगधन्दा खोली रोजगारीको सिर्जना गर्नुुपर्ने शाहको भनाइ छ ।
करिब छ महिनादेखि अष्ठलक्ष्मी पारिजात मुक्तिनाथ हर्वलमा दादको उपचार गराई राख्नुभएकी चितवनको मञ्जु शर्माले केमिकल बिना प्रयोग नगरिने आफू नियमित उपचार गर्न आउने गरेको बताउनुभयो ।
शर्मा भन्नुहुन्छ, –यसभन्दा अघि उपचारको लागि धेरै औषधि गरे पनि निको नभएपछि यहाँ आएकी हुँ, शरीरभरि नै आएको दाद अहिले निको भइसकेको छ । – शर्मिला पाठक/रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

प्राथमिक शिक्षकका लागि आवेदन खुला

२०८१ बैशाख १५ गते, शनिबार

हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइदै

२०८१ बैशाख १४ गते, शुक्रबार

कक्षा १२ को परीक्षा सुरु

२०८१ बैशाख १४ गते, शुक्रबार