राँगाभैँसी बध गर्न नपाइने नियम तत्काल लागू नहुने

२०७३ श्रावण १३ गते, बिहीबार

काठमाडौँ, १३ साउन । काठमाडौँ उपत्यकामा साउनदेखि नै मासुको व्यावसायिक विक्री वितरणका लागि राँगाभैँसी बध गर्न नपाइने भने पनि तत्काल कार्यान्वयन हुने अवस्था देखिएको छैन । पूर्वतयारी नभई घोषणा गरिएकाले पनि कार्यान्वयनमा समस्या भएको सरोकारवाला बताउँछन् । महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले उपत्यकामा राँगाभैँसी बध गर्न प्रतिबन्ध लगाउन नीतिगत रूपमा व्यवस्था गरिए पनि प्राविधिक कठिनाइका कारण केही समय लाग्नसक्ने बताए । उनले उपत्यकामा राँगाभैँसी बध गर्न प्रतिबन्ध लगाउनुअघि उपत्यकाबाहिर रहेका नौवटा बधशालालाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउने र उक्त ठाउँमा सुरक्षित तरिकाले बध गरेका राँगाभैँसीको मासु रिफरभ्यानमार्फत उपत्यकामा भित्र्याएर चिस्यानघरमा राखेर सुरक्षित किसिमबाट विक्रीवितरण गर्ने व्यवस्था मिलाउनु पर्ने बताए ।
श्रेष्ठले भने , “उपत्यकामा राँगाभैँसी भित्र्याउन प्रतिबन्ध लगाउन भनेजस्तो सजिलो छैन, यसका लागि धैरै प्रक्रिया पूरा गरेका छौँ, यसका लागि आवश्यक बजेटका विषयमा छलफल भइरहेको छ, यसमा टुङ्गो लाग्नेबित्तिकै काम सुरु हुन्छ । ”
जनस्वास्थ्य महाशाखा प्रमुख श्रेष्ठका अनुसार उपत्यकामा राँगाभैँसी भित्र्याउन प्रतिबन्ध लगाएर र यहाँ आवश्यक मासु आपूर्ति गर्न महानगरपालिकाले पाँच करोड, उपमहानगरपालिकाले तीन करोड र अन्य नगरपालिकाले डेढ करोड रुपियाँ कम्तीमा छट्याउनुपर्ने भनिएको छ तर टुङ्गो लागिसकेको छैन, छलफल क्रममा छ ।
पाँचवर्षे कार्ययोजना अनुसार उपत्यकाको मासु सुधारका लागि एक अर्ब २० करोड लागत लाग्ने अनुमान गरिएको छ । जसमा ४० प्रतिशत सरकार, १० प्रतिशत स्थानीय निकाय र ५० प्रतिशत निजी क्षेत्रको लगानी गर्नुपर्ने भनिएको छ ।
यसअघि राँगाभैँसी काट्दा निस्कने फोहोरले उपत्यका दुर्गन्धित बनाएको भन्दै तीनवटै जिल्लाका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाले यस्तो रोक लगाउने निर्णय गरेका थिए ।
उपत्यकामा जथाभावी नदी किनारमा राँगाभैँसी बध गर्दा फोहोरको समस्या भएको र मासुसमेत अस्वस्थकर हुने भएकाले काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका, भक्तपुर लगायतका २० वटै नगरपालिकाको सामूहिक पहलमा यस्तो व्यवस्था गर्न लागिएको हो । उपत्यकामा दैनिक करिब सात सय राँगाभैँसीको बध हुने गरेको र बध गर्दा करिब ९० हजार किलो फोहोर निस्कने अनुमान महानगरको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

प्राथमिक शिक्षकका लागि आवेदन खुला

२०८१ बैशाख १५ गते, शनिबार

हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइदै

२०८१ बैशाख १४ गते, शुक्रबार

कक्षा १२ को परीक्षा सुरु

२०८१ बैशाख १४ गते, शुक्रबार