प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता

२०७३ असार २९ गते, बुधबार

काठमाडौं, २९ असार । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसदमा अविश्वास प्रस्ताव दर्ता गरेका छन् । बुधबार प्रधानमन्त्री ओलीविरुद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रस्तावक र कांग्रेस सभापति शेरबहादुर देउवा समर्थक रहेर अविश्वास प्रस्ताव दर्ता गरिएको हो । अविश्वास प्रस्तावमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा संयुक्तका २५३ जना सांसदहरुले हस्ताक्षर गरेका जनाइएको छ ।
यसअघि, बुधबार बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको थियो । बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी, बैठकले कांग्रेस र माओवादीबीच भएको सात बुँदे सहमति अनुमोदन गरेको छ ।बैठकपछि कांग्रेस नेता रमेश लेखकले कांग्रेस र माओवादीबीच भएका लिखित तथा अलिखित सबै सहमति अनुमोदन गरिएको बताए ।
त्यसैगरी, बुधबारै बिहान बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले पनि प्रधानमन्त्री ओलीले राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको थियो । तर, एमालेले भने प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने र अविश्वासको प्रस्तावको सामना गर्ने निर्णय गरेको छ ।
संसद भवन नयाँ बानेश्वरमै बसेको एमालेको बैठकले प्रधानमन्त्री ओलीविरुद्ध ल्याइने भनिएको अविश्वासको प्रस्तावको सामना गर्ने निर्णय गरेको हो । बैठकले संवैधानिक प्रक्रियाअनुसार अघि बढ्ने निर्णय गरेको कानुनमन्त्रीसमेत रहेका एमाले नेता अग्नि खरेलले जानकारी दिए ।

प्रतिक्रियाहरु