बृहत् प्राज्ञिक सम्मेलन काठमाडौँमा हुने

२०७३ जेष्ठ २४ गते, सोमबार

काठमाडौँ, २४ जेठ । तीनदिने बृहत् प्राज्ञिक सम्मेलन काठमाडौँमा हुने भएको छ । त्रिमूर्ति निकेतनको आयोजनामा ‘नेपाली भाषा साहित्यको अन्तर्राष्ट्रिय विस्तारमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’ विषयक सो सम्मेलन काठमाडौँमा हुने भएको हो । सम्मेलनमा नेपाल तथा भारतका विश्वविद्यालयमा प्राध्यापन गर्ने ३५० जना जति प्राज्ञिक व्यक्तित्वको सहभागिता हुने भएको छ । त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको निकेतनको विशेष बैठकले त्रिमूर्ति निकेतनका मानार्थ सदस्य तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. महादेव अवस्थीलाई यस सम्मेलनका लागि अध्यक्षमा मनोनीत गरेको छ ।
निकेतनले त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. लक्ष्मणप्रसाद गौतम र उपप्राध्यापक रजनी ढकाललाई उपाध्यक्षमा मनोनीत गरेको छ भने त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले सम्मेलनमा पदेन सदस्यसचिवका रूपमा काम गर्ने बताइएको छ ।
नेपालका नौओटा विश्वविद्यालयमध्ये त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय र सुदूरपश्चिमाञ्चल विश्वविद्यालय गरेर जम्मा छओटा विश्वविद्यालयमा नेपाली भाषा पढाइने गरिएको छ । ती विश्वविद्यालय र तीअन्तर्गत देशभरिमा स्नातकोत्तर स्तरमा १०४ ओटा र स्नातकस्तरमा झन्डै ८०० ओटा जति क्याम्पसमा नेपाली भाषा साहित्य पढाइने गरिएको छ ।
त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयमा मात्र नेपाली भाषा साहित्यमा विद्यावारिधि गराइन्छ । यसैगरी भारतमा २०० ओटा विश्वविद्यालयमध्ये नौओटा विश्वविद्यालयमा नेपाली भाषा साहित्यको अध्यापन गराइन्छ । जसमध्ये काशी हिन्दू विश्वविद्यालय, उत्तर बङ्ग विश्वविद्यालय र सिक्किम विश्वविद्यालयमा नेपाली भाषा साहित्य विषयमा स्नातकोत्तरसम्म पढाइने गरिएको छ ।
सर्वप्रथम सन् १९०६ देखि लखनऊ विश्वविद्यालयमा नेपाली विषय पढाइन थालिएको थियो । त्यसैगरेर पटना विश्वविद्यालयमा सन् १९१३ र कोलकाता विश्वविद्यालयमा सन् १९२० देखि नेपाली भाषा साहित्य पढाउन थालिएको थियो । अहिले यी तीनै विश्वविद्यालयमा नेपाली भाषाको अध्यापन गराइँदैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु