“हिम्मतवाला” को शुभमुहुर्त र फस्र्टलुक पोष्टर सार्वजनिक

२०७३ जेष्ठ २३ गते, आईतवार

काठमाडौं, २३ जेठ । क्यानडामा सुदर्शन गौतम प्रमुख भुमिकामा रहेर अभिनय गर्न लागेको चलचित्र “हिम्मतवाला” (एक बहादुर मानिस) को फस्र्टलुक पोष्टर र शुभमुहुर्त गरिएको छ । क्यानडा र अमेरिकामा छायाँकन हुने तयारी भइरहेको चलचित्र हिम्मतवालाको फस्र्टलुक पोष्टरलाई सिएनएन हिरो अनुराधा कोइरालाले सार्वजनिक गरेकी थिइन । क्यानडाको मिसेसागा सिटीको पार्क इन् ¥याडिसन होटेलमा आयोजित “सुपर कमेडी मेगा नाइट” मा अनुराधा कोइराला, हास्य कलाकार दीपकराज गिरी र दिपाश्री निरौला लगायतले सयूंक्त रुपमा चलचित्र हिम्मतवालाको पोष्टर सार्वजनिक गरेका हुन् । सोहि क्रममा टंक बुढाथोकीको स्वर र संगीतमा रहेको “म हुँ हिम्मतवाला” गीतको पनि सार्वजनिक गरिनुको साथैं उक्त गीतमा कलाकारहरुले नृत्य पनि प्रस्तुत गरेका थिए । पुराना निर्देशक हरि सिवाकोटीले निर्देशन गर्न लागेको यस चलचित्रमा नायक सुदर्शन गौतम एक्सन अवतारमा प्रस्तुत हुँदैछन् । चलचित्रको सार्वजनिक पोष्टरमा सुदर्शन एक्लै देखिएका छन् । यसअघि चलचित्रलाई इश्वर थापाले निर्देशन गर्ने कुरा थियो तर केहि प्राविधिक कारणले गर्दा चलचित्रलाई हरि सिवाकोटीले निर्देशन गर्न लागेका हुन् । दर्जनौ चर्चित पुस्तकहरु समेत लेखिसकेका हरि सिवाकोटीले “सौता”, “बेदना र मुक्ति”, अमेरिकामा निर्मित पहिलो नेपाली चलचित्र “इस्थ मित्र”, क्यानडामा निर्मित चलचित्र “मैले विरोध गरेको छैन” लगायतका चलचित्रहरु निर्देशन गरिसकेका छन् । चलचित्र हिम्मतवालाको सार्वजनिक गरिएको पोष्टर हेर्दा सुदर्शन फरक भुमिकामा प्रस्तुत हुन लागेको सजिलै अनुमान गर्न सकिन्छ । चलचित्र हिम्मतवालीमा पहिलो पटक काम गरेर सर्वाधिक चर्चा बटुलेका सुदर्शनले यस चलचित्रमा आफु विल्कुलै फरक भुमिकामा देखिन लागेको कार्यक्रममा बताए । यो चलचित्रको छायाँकन अगष्टबाट सुरु हुँदैछ । कानी मल्टी भिजन आइएनसी र जिटीए लाइन्स क्लबको सयूक्त आयोजनामा भएको “सुपर कमेडी मेगा नाइट” मा सहभागी हुनका लागि नेपालबाट माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, हास्यकलाकार दीपकराज गिरी र दीपाश्री निरौला क्यानडा पुगेका थिए । उक्त सुपर मेगा कमेडी नाइटमा समाजमा रहेर उत्कृष्ट काम गर्ने करिब ३० जनालाई अभिनन्दन पनि गरिएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु