राष्ट्रपति डिल्मा रुसेफविरुद्ध महाअभियोग लगाउन सिफारिस

२०७२ चैत्र ३० गते, मंगलवार

काठमाडौ, ३० चैत । ब्राजिलको एउटा संसदीय समितिले सरकारी कोषसम्बन्धी विवरण तोडमोड गरेको भन्दै राष्ट्रपति डिल्मा रुसेफविरुद्ध महाअभियोग लगाउन सिफारिस गरेको छ । ६५ सदस्यीय समितिमा राष्ट्रपति रुसेफविरुद्ध महाअभियोग लगाउनुपर्ने पक्षमा ३८ र विपक्षमा २७ मत खसेको थियो । मतदानअघि समितिका सदस्यहरुबीच महाभियोग लगाउने वा नलगाउने विषयमा चर्काचर्की भएको थियो । यस्तो अवस्थामा भएको मतदानका क्रममा राष्ट्रपति रुसेफका समर्थक र विपक्षीले प्लेकार्डसहित नाराबाजी गरेका थिए ।
संसदीय समितिको यो निर्णयले रुसेफलाई झट्का दिएको छ । रुसेफमाथि मुलुकमा बढ्दो बजेट घाटा ढाकछोप गर्न कोषको विवरण बंग्याएको आरोप लगाइएको छ । महाअभियोग प्रक्रिया अगाडि बढाउने कंग्रेसको समितिको सिफारिससँगै अब तल्लो सदनमा आगामी १७ वा १८ तारिखमा पूर्ण मतदान हुनेछ । राष्ट्रपतिविरुद्धको महाअभियोग प्रस्तावलाई सिनेटसम्म पु¥याउनका निम्ति तल्लो सदनमा पक्षमा ३४२ मत आवश्यक पर्छ । राष्ट्रपति रुसेफले भने आरोप अस्वीकार गरेकी छन् । उनले आफूमाथिको आरोप महाभियोग लगाउनुपर्ने खालको नभएको जिकीरसमेत गरेकी छन् । – एजेन्सी

प्रतिक्रियाहरु