एमाले स्थायी कमिटीले विभागमा मनोनयन गर्न सकेन

२०७२ चैत्र १७ गते, बुधबार

काठमाडौँ, १७ चैत । नेकपा (एमाले) को स्थायी कमिटीको आजको ३५ औँ बैठकमा पनि केन्द्रीय विभाग र सल्लाहकार समितिमा मनोनयनबारे निर्णय हुन सकेन । प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बसेको बैठकमा सो कार्यसूचीमाथि मङ्गलबारको स्थायी कमिटीको निर्देशनबमोजिम केन्द्रीय सचिवालयले रातिसम्म लगाएर गरेको गृहकार्यसहितको प्रस्तावमा प्रस्तुत भए पनि निर्णय हुन सकेन ।
विभागका सदस्य चयन गर्दा सबै पक्षसँग परामर्श अपुग भएको भन्दै आलोचना भएपछि निर्णय हुन नसकेको हो ।
प्रधानमन्त्री ओली चितवनको कार्यक्रममा जानुपर्ने भएकाले बैठक लम्बिने भएपछि ओलीले अर्काे सूचना नभएसम्मका लागि बैठक स्थगन गर्नुभएको केन्द्रीय सचिवालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकमा चीन भ्रमणबारे उहाँले आफ्नो बैठकमा जानकारी गराउनुभएको थियो भने भ्रमण ऐतिहासिक भएको ठहर गरिएको छ । प्रधानमन्त्री ओलीले चीन भ्रमणमा दुई देशबीच यातायात तथा पारवहन सम्झौतालगायतका सम्झौता भएको र भ्रमण समग्रमा सफल रहेको बताउनुभएको थियो ।
प्रधानमन्त्री ओली यही चैत ७ देखि १४ सम्म छिमेकी चीनको औपचारिक भ्रमणमा जानुभएको थियो । चीनले देखाएको सत्कार र सद्भावका लागि बैठकले आभार पनि व्यक्त गरेको छ ।
गत फागुन २३ र २४ गते सम्पन्न स्थायी कमिटीको ३४ औँ बैठकमा प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे समीक्षा भएको थियो ।
नवौँ महाधिवेशनयता मनोनयन हुन नसकेका ती पदमा यही चैतको अन्तिम साता हुने केन्द्रीय कमिटीको बैठकअगावै निर्णयमा पुग्ने तयारी भएको बुझिएको छ ।
पोलिटब्युरोको बैठक यही चैत २३ र २४ गते तथा केन्द्रीय कमिटीको बैठक चैत २७ देखि ३० गतेसम्म काठमाडौँमा हुने तय भएको छ । रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु