‘तानाशाही शासनको बाटोमा मोदी’

२०७२ फाल्गुन १२ गते, बुधबार

काठमाडौं, १२ फागुन । विश्वका चर्चित सञ्चारमाध्यमले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको रवैयालाई तानाशाहीको संज्ञा दिएका छन् । न्यूयोर्क टाइम्सजस्ता विश्वचर्चित सञ्चारमाध्यमहरुका अनुसार मोदी सरकारले आम जनताको प्रजातान्त्रिक अधिकार खोसिरहेको छ । उग्र राष्ट्रवादीहरुको भीडले कानुन आफ्नो हातमा लिएर आतंक मच्चाइरहँदा मोदी सरकार चुप बसेको समाचार ती सञ्चारमाध्यमले लेखेका छन् । न्यूयोर्क टाइम्सले आफ्नो विचार पृष्ठमा लेखेको छ, ‘अभिव्यक्ति स्वतन्त्रताका पक्षधर तथा मोदी सरकार र उनका राजनीतिक सहयोगीबीचको हिंसाले भारत संकटमा परिरहेको छ। यस किसिमको टकराव मोदी सरकारलाई आर्थिक पुनर्उत्थान गर्न अवरोध गर्नेछ ।’ न्यूयोर्क टाइम्सले अर्को लेखमा जवहरलाल नेहरु विश्वविद्यालयका विद्यार्थी नेता कन्हैया कुमारको देशद्रोह मामिलामा भनेको छ, ‘सन्देश प्रष्ट छ कि उग्र राष्ट्रवादको नाममा हिंसा जायज छ । यहाँ अदालत पनि सुरक्षित छैन । राज्य या भारतीय जनता पार्टीलाई चुनौती दिनु या औंला उठाउनु भनेको आफ्नो ज्यानलाई संकटमा पार्नु बराबर हो ।’ भीडबाट एक व्यक्तिलाई कुटीकुटी मार्ने जस्तो सोचका लागि मोदी सरकार जिम्मेवार छ । भारतीय नागरिकले प्रजातान्त्रिक अधिकारका लागि मोदी सरकार र उसका समर्थकले दिने धम्कीविरुद्ध आवाज उठाउनु जरुरी छ । फ्रान्सको मन्ड समाचारपत्रले लेखेको छ, ‘मोदी शक्तिमा आएपछि भारतीय प्रजातन्त्र नराम्रो दिनबाट गुज्रिरहेको छ।’ जेएनयुका विद्यार्थी नेता कन्हैया र एक पूर्व प्रोफेसरलाई गिरफ्तार गर्नु हिन्दु राष्ट्रवादी सरकारको तानाशाही रवैयाको ताजा उदाहरण भएको पत्रिकाले उल्लेख गरेको छ । हिन्दु राष्ट्रवादी अब भारतीय झन्डालाई फहराइरहेका छन् । जब कि यसभन्दा अघि उनीहरु गेरु बस्तलाई धेरै मान्थे । पाकिस्तानी समाचारपत्र डनको विचार पेजमा लेखिएको छ, ‘जेएनयु यस्तो विश्वविद्यालय हो, जहाँ पूर्व पाकिस्तानी प्रधानमन्त्री जुल्फिकर अली भुट्‌टोको फाँसीका बेलामा पनि आन्दोलित भएको थियो । तर त्यो बेला पनि कसैलाई जेल हालिएको थिएन।’ डनले जेएनयुमा त्यो बेला कयौं विद्यार्थीले कयौं दिनसम्म खाना नखाएको जनाउँदै यस्तो नै हालत चिनियाँ राष्ट्रपति माओ त्से तुङ्गको निधनमा पनि भएको जनाएको छ । त्यो बेला पनि जेएनयु शोकमा डुबेको जनाउँदै डनले भारतीय सरकारको तीब्र विरोध गरेको छ ।आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रतिक्रियाहरु