संगीतकार खड्गीको निधन

२०७२ माघ ७ गते, बिहीबार

काठमाडौ, ७ माघ । संगीतकार रत्न बहादुर खड्गीको ७९ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । झण्डै सात सय गीतमा संगीत गर्नु भएका संगीतकार खड्गीको आज बिहान निधन भएको हो । डेढ महिना अघिदेखि भक्तपुर क्यान्सर अस्पतालमा फोक्सोको क्यान्सरको उपचार गराइरहनु भएका संगीतकार खड्गीको बिहान साढे पाँच बजे निधन भएको उहाँका छोरा रवी खड्गीले जानकारी दिए । संगीतकार खड्गीले पुराना तथा नयाँ गरी झण्डै सात सय गीतमा संगीत गरेका छन ।
काठमाडौंको कीर्तिपुरमा जन्मिएका खड्गी अहिले बागबजारमा बस्दै आएका थिए । उनले संगीत गरेका मध्ये एक्लै बस्दा सँधै मलाई सम्झना तिम्रो आइदिन्छ, खोलाको दुई किनार भो तिम्रो र मेरो पिरती, कर्मको रेखा नमेट्दो रै छ, सिरानीले बिझायो कि लगायतका गीत लोकप्रिय छन् ।
उनको संगीतमा पुरानो पुस्ताका अरुणा लामा, दिलमाया खातीदेखि अहिलेका सत्य स्वरुप आचार्य, अन्जु पन्त, मनोज राजले पनि गीत गाएका छन् । संगीतकार खड्गीका एक छोरा र दुई छोरी छन् । आजै पशुपति आर्यघाटमा अन्त्यष्टी गर्ने तयारी भएको उहाँका छोरा रवी खड्गीले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु