मैनबत्ती बालेर बिरामीको उपचार

२०७२ पुष २३ गते, बिहीबार

काठमाडौं, २३ पुस । जिल्ला अस्पताल जाजरकोटमा विद्युत् नहुँदा मैनबत्ती बालेर बिरामीको उपचार हुँदै आएको छ । दैनिक विद्युतको अभावमा जिल्ला अस्पतालका बिरामीलाई मैनबत्तीको भरमा उपचार गर्दा निकै सास्ती व्यहोर्नु परेको स्वास्थ्यकर्मीले बताएका छन् । अक्सिजन दिने बिरामी आए पनि विद्युतको अभावमा अक्सिजन दिन नसकिएको स्वास्थ्यकर्मी नारायणी शाहको भनाई छ । एक हातमा मैनबत्ती, अर्को हातमा औषधि बोकेर वार्डमा जाँदा औषधि खुवाउनसमेत अप्ठ्यारो हुने गरेको उनले बताइन् ।
अँध्यारो वार्डमा बिरामीको अवस्था के छ कसरी बसिरहेका छन् भन्नेसम्म थाहा नहुँदा उपचारमा बाधा पुगेको छ । अस्पतालमा सोलार बत्ती जडान गरे पनि सोलारले काम नगर्दा अँध्यारोमा बस्नु परेको चिकित्सक दीपक पुनले जानकारी दिए ।
बिरामी भर्ना गरिएको प्रत्येक वार्डमा मैनबत्ती राखेर उज्यालो दिने प्रयास भए पनि हावा चल्ने भएका कारण मैनबत्ती निभ्दा बिरामी तथा स्वास्थ्यकर्मीले सास्ती व्यहोनु परेको छ ।
जिल्ला अस्पतालमा थ्री फेजको विद्युत् जडान गरे पनि त्यसले काम नगर्दा र जडान गरिएका सोलारको पनि मर्मत नहुँदा यस्तो समस्या आएको स्वास्थ्यकर्मीको भनाइ छ । कानको उपचार गर्न आउने बिरामीलाई कान हेर्नका लागि चाहिने टर्चमा प्रयोग हुने ब्याट्रीसमेत नहुँदा दैनिक बिरामीलाई फर्काउने गरिएको स्वास्थ्यकर्मीले बताएका छन् । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु