चोक्टा खान गएकी बुढी झोलमा डुबेरमा मरी – टीकादत्त शिवा

२०७२ मंसिर १४ गते, सोमबार

‘संघियता’ एमाले र कांग्रेसको एजेण्डा हुँदै होइन, न कहिल्यै थियो । एजेन्डा हुनेहरु छिन्नविन्न भईसकेका छन । नेपालको संविधान २०७२ जारि गर्नेबेलामा पनि भित्रभित्रै संघीयता विरोधी दवाव थेग्नै नसक्ने गरि उर्लियो । त्यसैले, ‘हतार हतार’ प्रचण्ड कै करबलबाट संविधान जारि भयो । त्यसपछि संघीयताको मुख्य पक्षधर एमाओवादी कमजोर भएको अवस्था छ भने कम्युनिष्टहरुको वैज्ञानिक सिधान्त अनुसार वर्ग संघर्षमा केन्द्रीत हुनुपर्नेमा त्यसलाई गलत परिभाषा गर्दै अध्यक्ष बन्न नपाएको इगो साँध्न ‘देखाई दिने’ शैलीमा प्रस्तुत भएका बाबुराम भट्टराई माओवादलाई मिथ्या सावित गर्दै ‘नई शक्ति’को झोला बोकेर ‘जातवाद’मा उत्रिएपछि पिंध बिनाको लोटा झैँ नाङ्गीसकेका छन । अहिले परिस्थितिले कोल्टे फेरि सकेको छ । संघियताको नाममा देश नै टुक्रिने अवस्था आईसकेपछि स्वयं प्रचण्ड पनि हच्किएका छन । उनी आफ्नो बचेखुचेको साखमाथि इतिहासले कलंक पोतोस भन्ने चाहदैनन । अर्कोतिर, संघियता जुन स्वरुपमा हुनुपर्ने थियो त्यसको धार नै परिवर्तन भएर जब हक अधिकारको नाममा तराईका जमिन्दारहरु तानाशाह बन्ने परिस्थिति बन्यो र अंगीकृतहरुलाई अधिपति बनाउने भारतको अभीष्टमा चरितार्थ भयो तबदेखि थोर बहुत सहानुभूति राख्ने जनमतको समेत संघियता प्रति मोहभंग भईसकेको छ । संघीयताले अधिकार गुमेकाहरुलाई अधिकार दिने होइन बल्कि देशलाई खण्डीकरण गरेर कमजोर बनाउने अनि कमजोर संघीय सरकार मार्फत नेपालको प्राकृतिक सम्पदाहरुलाई आफुले चाहे जसरी उपभोग गर्ने भारतको लामो षड्यन्त्र ‘ग्राण्ड डिजाइन’ र तानाबानाको पोको छताछुल्ल भएर फुस्किसकेको छ ।
भलै कांग्रेस अहिले प्रतिपक्षमा छ तर कांग्रेस र एमालेको एजेण्डामा बाहिर जे देखिए पनि भित्री रुपमा एकरुपता नै छ । कांग्रेस भित्रका शक्तिशाली नेताहरु शेर बहादुर देउवा, रामचन्द्र पौडेल, रामशरण महत लगायत अधिकांश कांग्रेसीहरुले संघियताको पक्षमा कहिल्यै वकालत गरेनन । हावादारी र कनिष्ट नेता गगन थापा अनि आक्कल झुक्कल झुल्किने नेता नरहरी आचार्यले मात्रै आफ्नो छविलाई कृत्रिम जलप लगाई बेलाबखत उजिल्याउन मसिनो स्वरमा संघियतालाई समर्थन ‘गरि टोपलेका’ हुन । त्यो कांग्रेसको संस्थागत निर्णय हुँदै होइन ।
संघीयता विरोधी खेमाका चित्र बहादुर केसी, कमल थापा, सिपि मैनालीहरुलाई ‘खोजी खोजी’ मन्त्रीमण्डलमा किन सामेल गरियो ? केपी ओली कच्चा खेलाडी पक्कै होइनन – बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड !
अब मधेसी मोर्चासँग कुनै निर्णायक ‘वार्तासार्ता’ हुने संभावना नै छैन । संघीयतालाई लागु गराउने इच्छाशक्ति सत्तापक्ष वा प्रतिपक्ष कांग्रेसमा समेत हुन्थ्यो भने १०० दिनभन्दा बढी देश अस्तव्यस्त हुने नै थिएन । संघियताका विरोधीहरुको जनमत बढ्दै गईरहेको यथार्थलाई सत्तापक्ष र प्रतिपक्ष लगायतले समेत भलिभाँपी बुझिसकेका छन । पछिल्लो चुनावमा तीन चित खाएर जनमत गुमाईसकेका र अवसर खोजीरहेका मधेसी मोर्चाका भारत परस्त नेता र तीनलाई उचाल्ने स्वयं बाबुराम भट्टराईले पनि संविधान लागु गराउनुको सट्टा संघियतालाई विफल बनाऊन अनेकन हतकण्डा मच्चाउने थिएनन । वार्ता गरेपछि ‘गिव एण्ड टेक’ हुन्छ हुन्छ र कुनै न कुनै रुपमा संघियतालाई स्वीकार गर्नुपर्ने हुन्छ त्यसैले निर्णायक ‘वार्तासार्ता’ हुने नै छैन ।
संघीयता लागु हुन नसक्ने परिस्थिति निम्त्याउन आशोक राईको टीम पनि लागि परेको यथार्थ यसबाट स्पष्ट हुन्छ कि नेपाललाई ‘हिन्दु राज्य’ घोषणा गरेर भारतको अटुट साँस्कृतिक सम्बद्धको आधारमा नेपाललाई बाहिरी विश्वबाट अलग राख्ने र नेपालको अभिभावक भई रहने उत्कण्ठा मोदीहरुले पालेको अवस्थामा त्यो रणनीतिलाई सघाउने अपवित्र गठबन्धनको हिस्सेदार आशोक राई बन्न पुगेका छन । यसले गर्दा उनीहरुले उठाउदै आएको धर्म निरपेक्षताको मुद्दा स्वत: कमजोर बन्न पुग्यो जुन अहिलेको संविधानको एउटा अभिन्न उपलब्धीको रुपमा ब्याख्या गर्ने गरिएको छ ।
अहिले उधोग बाणिज्य संघ जस्ता निरपेक्ष संगठनहरु समेत संघियता खारेज गर्नुपर्छ भन्ने माग लिएर सडकमा उत्रिएका छन । यस्तोमा संघीयता नभई नहुने भनि रोड़याँई गर्दै आएका मधेसी मोर्चा र जातिय संगठनहरुको ‘मुखमा आएको भाग’ खोसिदै छ । उनीहरुले भारत परस्त एजेण्डाहरु: क्रमसः सिमाङ्गकन र जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको बुई चढेका कारण स्वतन्त्र राष्ट्रको अस्तित्व नै धरापमा पर्नसक्ने परिस्थिति बनेपछि कहिल्यै घोषित उपनिवेश वा दास नबनेको मुलुकका स्वाभिमानी जनताहरुको राष्ट्रिय स्वाभिमानलाई नै ललकारिएको यथार्थता प्रति नेपालका भुरा भुरी बच्चाहरु समेत भलिभाँती वाकिफ़ छन । त्यसैले भारतको हेपाहा प्रवृतिको पराकाष्टाका विरुद्द स्वत:स्फुर्त रुपमा जनताले प्रतिकार गर्दैछन, गर्ने नै छन – शरीरमा नेपाली रगत दौडाउनेहरु कतई हातमा दहि जमाएर बस्ने छैनन । यो प्रकृतिले नेपालीहरुलाई दिएको स्वभाव नै होइन !
यो प्रतिकारले संघियताको विरोधको रुप धारण गर्दै जानेछ र अन्ततोगत्वा संघियता नै खारेज हुने छ । अब ‘किन चाउरिस मरिच, आफ्नै रागले’ चरित्रका मधेसी मोर्चा अनि जातिय पहिचानवादीहरुका लागि यो उखान हुबहु चरितार्थ हुन्छ – ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेरमा मरी’ !

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु