प्रधानमन्त्री कोइरालाको अमेरिका भ्रमण रद्द

२०७२ आश्विन ६ गते, बुधबार

प्रधानमन्त्री कोइरालाको अमेरिका भ्रमण रद्द
काठमाडौं, ६ असोज । प्रधानमन्त्री सुशील कोइरालाको अमेरिका भ्रमण रद्द हुने भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री कोइरालाले मुलुकको परिस्थितीलाई ध्यानमा राख्दै अमेरिका भ्रमणमा नजाने निधो गरेका हुन् । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री कोइराला आज अमेरिका प्रस्थान गर्ने कार्यक्रम थियो । भ्रमणका क्रममा उनले आफ्नो नियमित स्वास्थ्य परीक्षणसमेत गराउने कार्यक्रम थियो ।
स्रोतका अनुसार ‘मुलुकका विभिन्न भागमा आन्दोलन जारी रहेका कारण प्रधानमन्त्री कोइरालाले अमेरिका भ्रमण रद्द गर्ने निधो गर्नु भएको छ ।’ आन्दोलनरत पक्षलाई सहमतिमा ल्याउने प्रयास जारी राख्नका लागि भ्रमण रद्द गरेको स्रोतले जनायो । राष्ट्रसंघको बैठकमा भाग लिन प्रधानमन्त्री कोइरालाको नेतृत्वमा एक टोली आज साँझ त्यसतर्फ जाने तयारी भएको थियो ।
प्रधानमन्त्री कोइरालाको अमेरिका भ्रमणलाई लिएर सामाजिक संजालमा समेत व्यापक टिप्पणी भइरहेको थियो । मुलुकमा आन्दोलन जारी रहेको समयमा आन्तरिक समस्या समाधान गर्न छाडेर प्रधानमन्त्री कोइराला विदेश भ्रमणमा जान नहुने प्रतिक्रिया सर्वसाधारणले व्यक्त गर्दै आएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु