वीरगन्ज र बारा गोली चल्यो, झन्डै आधा दर्जनको मृत्यु

२०७२ भाद्र १५ गते, मंगलवार

काठमाडाैँ, १५ भदाै । पर्साको वीरगन्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर मंगलबार ४ जनाको मृत्यु भएको छ ।
लक्षमनवायमा कर्फ्यु तोड्दै उत्रिएका प्रदर्शनकारीहरुलाई नियन्त्रण गर्नेक्रममा प्रहरीको गोली लागि दिनानाथ साह र भोला प्रसादको मृत्यु भएको हो ।
यस्तै, वीरगन्जकै नगुवामा सोहम साह कलवारको मृत्यु भएको छ । यसअघि, मंगलबारै राधेमाई टोल नजिक प्रहरीले चलाएको गोली लागेर मनियारीका धर्मराज सिंहको मृत्यु भएको थियो । प्रदर्शन उग्र बन्दै गएपछि स्थानीय प्रशासनले वीरगन्ज र आसपासको क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ । दंगाग्रस्त क्षेत्र घोषणासँगै त्यस क्षेत्रमा अब सेना परिचालन हुनेछ । प्रहरी र प्रदर्शनकारीबीच बिहानैदेखि भएका झडपमा थुप्रै घाइते भएका छन् भने घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी, बाराको कलैयामा मंगलबार भएको झडपमा प्रहरीको गोली लागि घाइते भएका कलैया–१० रंगपुरका हिफाजत मिंया अन्सारीको मृत्यु भएको छ ।
उनको उपचारका क्रममा कलैया अस्पतालमा मृत्यु भएको हो । बारामा पनि प्रहरी र प्रदर्शनकारीबीच विभिन्न ठाउँमा झडप भइरहेका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले रबरको गोली चलाउँदा कलैयामा दर्जनभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये रामबाबु यादव, राजु अंसारी, किशोर पाण्डे र राकेशकुमार साहको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल र जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको छ । प्रदर्शनकारीले मृतक अंसारीको शवलाई भरतचौक राखी प्रदर्शन जारी राखेका छन् । यस्तै, प्रदर्शनकारीको प्रहारबाट आधा दर्जनभन्दा बढी प्रहरी पनि घाइते भएको प्रहरीले बताएको छ । झडपका क्रममा जिल्ला प्रहरी कार्यालय कलैयाका प्रहरी नायव उपरीक्षक विनोद शर्माको एक थान सन्चार सेट प्रदर्शनकारीले खोसेका छन् । आन्दोलनकारीले बड्की फुलवरियाको प्रहरीचौकी, दक्षिण झिटकैंयाको प्रहरीचौकी, सिसहनिया चौकीको प्रहरी बिटमा प्रदर्शनकारीले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रदर्शनकारीले परवानीपुरमा तेल बोकेको ना३ख ८७२१ नम्बरको ट्रकमा आगजनी गरेका छन् ।

प्रतिक्रियाहरु