कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

२०७२ भाद्र १५ गते, मंगलवार

काठमाडाैँ, १५ भदाै । नेपालि कांग्रेसले आज केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। कांग्रेसले विधान संशोधन गरेर महाधिवेशन मिति सार्ने विषयमा छलफल गर्न आज बोलाएको बताइएको छ। यहि भदौ १७ गतेदेखि गाउँ, नगर र वडा अधिवेशन तोकेको कांग्रेसले नयाँ संविधानको विधियकमा ६ महिना म्याद थप गर्न पाउने व्यवस्था गरेपछि महाधिवेशनको प्रक्रिया नै रोकेको थियो। तर नयाँ संविधान तत्काल जारी हुने सम्भावना न्यून भएपछि महाधिवेशन अन्योलमा परेको छ। अन्तरिम संविधानमा निर्वाचन आयोगमा दर्ता हुने कुनै पनि दलले बढीमा पाँच वर्षभित्र केन्द्रीय सदस्य र पदाधिकारीहरूको चयन निर्वाचनमार्फत गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ। कांग्रेसले पार्टीको विधानअनुसार चारवर्षे कार्यकाल गत वर्ष असोज ५ गते नै पूरा गरी थप एक वर्ष म्याद थपेको हो।संविधानअनुसार असोज ५ गतेभित्र अधिवेशन नगर्ने हो भने कांग्रेस अवैधानिक हुन्छ।कांग्रेसले अन्तरिम संविधान संशोधन गरेर पार्टी अधिवेशन ६ महिना पर सार्नेगरी आन्तरिक तयारी गरेको छ। मंगलबार बिहान बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशन मिति सार्ने र समसामयिक राजनीतिक विषयमा छलफल हुने भएको छ। ‘महाधिवशनको मिति र समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल हुन्छ,’ पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडूले भने।
कांग्रेसले प्रमुख दलहरूसँग अन्तरिम संविधान संशोधान गर्ने सहमति गरेर नयाँ महाधिवेशन तोक्ने गरी छलफल गर्ने भएको छ। प्रधानमन्त्री एवं पार्टी सभापति सुशील कोइराला निकट स्रोतका अनुसार फागुन मसान्तमा नयाँ महाधिवेशनको मिति तोक्ने आन्तरिक तयारी छ । तर महाधिवेशनको मिति तोक्नुअघि अन्तरिम संविधान संशोधन गरेर ६ महिना म्याद थप्न सकिने विशेष व्यवस्था भने गर्नुपर्ने हुन्छ।

प्रतिक्रियाहरु