काँग्रेसको महाधिवेशन सर्ने सङ्केत

२०७२ भाद्र ११ गते, शुक्रबार

काठमाडौँ, ११ भदौ । नेपाली काँग्रेसले पार्टीको आगामी तेह्रौँ महाधिवेशन सर्न सक्ने सङ्केत गरेको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा आज बसेको नेपाली काँग्रेस पदाधिकारीको बैठकमा महाधिवेशन बारेमा केन्द्रित रहेर छलफल भएको थियो । नेपाली काँग्रेसले पार्टीको तेह्रौँ महाधिवेशन आगामी असोज २ देखि ५ गतेसम्म गर्ने निर्णय गरेको थियो । संविधान निर्माणमा पार्टीको सम्पूर्ण शक्ति हालसम्म परिचालन भएकाले अधिवेशनको तयारी अपुग हुने निष्कर्षसहित अधिवेशन सार्न सकिने निष्कर्षमा सो पार्टी पुगेको बताइएको छ ।
पार्टीको बाह्राँै महाधिवेशनको पाँच वर्षेको म्याद सकिन लागेको, नयाँ संविधान आइनसकेको तथा भदौको १५ गते गाउँबाट सुरु गरेर असोजको ५ गतेसम्म केन्द्रीयस्तरको अधिवेशन टुङ्ग्याउनुपर्छ भनेर गरिएको निर्णयमा पुनःविचार गर्नुपर्ने अवस्था आएको बैठकपछि उपसभापति रामचन्द्र पौडेलले बताए ।
संविधान निर्माणको काममा एकातिर व्यस्त भइयो, कि संविधानको काम छोडेर अधिवेशनमा जानुप-यो, कि पार्टीको अधिवेशनलाई अहिले केही पर सार्नका लागि सहमति गर्नुप¥यो – उनले बताए । प्रस्तावित संविधान मस्यौदामा अधिवेसन छ महिनासम्म पर सार्न सकिने भन्ने प्रावधान राखिएको छ, भदौभरिसम्म म्याद रहेकाले यो समयावधिसम्म संविधान जारी गरिए त ठिकै हुन्छ – उपसभापति पौडेलले बताए । यदि भदौभरिमा संविधानको काम पूरा हुन सकेन भने केही समस्या उत्पन्न हुन्छ, अहिलेको अवस्था भनेको भदौ २०/२५ सम्ममा संविधान जारी गरिसक्छौँ भन्ने नै हो, त्यो भयो भने ढुक्कै भयो – उनले बताए ।
प्रमुख राजनीतिक दलले सहमति गरेर नै दलको अधिवेशन आवश्यक परेको खण्डमा छ महिना पर सार्न सकिने संवैधानिक व्यवस्थाका लागि नयाँ संविधानमा प्रावधान राख्न प्रस्ताव गरेका छन् । बैठकले संविधान लेखन र सङ्घीय प्रदेशको सीमा निर्धारणका बारेमा सबै सभासद्सँग छलफल गर्ने निर्णय पनि गरेको छ । बैठकमा पार्टीको कार्यसमितिको बैठक बोलाउने बारेमा पनि छलफल भएको उपसभापति पौडेलले बताए । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु