वार्तामा प्रधानमन्त्री

२०७२ भाद्र १० गते, बिहीबार

काठमाडौ, १० भदौ । प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माण प्रक्रियामा असन्तुष्ट रहेका दलहरुसँग वार्ता थालेका छन । हिजो नेकपा–माओवादीसँग वार्ता गरेका प्रधानमन्त्री कोइरालाले आज अन्य असन्तुष्ट पक्षसँग छलफल गर्दै छन । प्रधानमन्त्री कोइरालाले आज साँझ तराई मधेस लोकतान्त्रिक पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, सङ्घीय सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, मधेसी जनाधिकार फोरम(गणतान्त्रिक), तराई मधेस सद्भावना पार्टी र थारु कल्याणकारी सभाका अध्यक्ष तथा संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति, संयुक्त दलित आन्दोलन नेपाल, दलित नागरिक समाज, दलित सभासद् समन्वय समितिलाई पत्राचार गरी वार्ताको लागि बोलाएका छन ।
आजदेखि पर्सीसम्म निरन्तर वार्ता गरिने प्रधानमन्त्रीका प्रेस सहयोगी प्रकाश अधिकारीले जानकारी दिए । पत्रमा प्रधानमन्त्री कोइरालाले वार्ताबाटै समस्या समाधान हुने भएकाले वार्तामा आउन आग्रह गरेका छन । आज वार्ताको समय भने तय भइनसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसैगरी, सरकारले संविधान निर्माण प्रक्रिया र पछिल्लो पटक भइरहेका आन्दोलनका विषयमा छिमेकी देशहरुलाई जानकारी गराउने भएको छ । नेपालमा रहेका विदेशी कुटनीतिक नियोगका प्रमुखहरुलाई बोलाएर सरकारले त्यस बारेमा विस्तृत जानकारी गराउन लागेको हो । ती निकायलाई सरकार र दलहरुले संविधान निर्माण प्रक्रियामा गरिरहेका प्रयास र आन्दोलनका विषयमा जानकारी गराउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विदेशमा भ्रम सृजना भएकाले यथार्थ बताउन सबैलाई बोलाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दिउँसो ३ बजे परराष्ट्रमन्त्री महेन्द्र पाण्डे र अर्थमन्त्री रामशरण महतले घटनाक्रमका विषयमा प्रष्ट पार्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु