कैलालीमा सेना परिचालन

२०७२ भाद्र ८ गते, मंगलवार

काठमाडौ, ८ भदौ । कैलालीको टीकापुरमा शान्ति, सुरक्षा कायम गर्न नेपाली सेना खटिएको छ । हिजो रातिदेखि नै कैलालीमा तेघरी र लम्की ब्यारेकबाट सेना खटाइएको सैनिक प्रवक्ता जगदिशचन्द्र पोखरेलले जानकारी दिए । प्रवक्ता पोखरेलका अनुसार कर्फ्यु लागेका रौतहट र नेपालगन्जमा पनि स्थानीय प्रशासनको समन्वयमा अरु सुरक्षा अङ्गका साथ गस्तिका लागि नेपाली सेना सहभागी छ ।
दाङ्मा सेना परिचालन भएको अपुष्ट खबर प्राप्त भए पनि मातहतका निकायमा यसबारेमा बुझ्ने काम भइरहेको सैनिक प्रवक्ता पोखरेलले बताए । कैलालीको टीकापुरमा भएको थरूहट आन्दोलनकारीको आक्रमणमा परी एसएसपीसहितका सुरक्षाकर्मीको मृत्यु भएपछि हिजो बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकले आवश्यकता अनुसार सेना परिचालन गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई आदेश दिएको हो । बैठकले सर्लाही, टिकापुर कैलाली र सर्लाहीको मलंगवाहा सेना परिचालन गर्न आदेश दिएको हो ।
यसैबीच, सरकारद्धारा रौतहटलाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएपछि जिल्ला सुरक्षा समितिले राति १० बजेदेखि जिल्लामा दंगाग्रस्त क्षेत्र निर्धारण गरेको छ ।
शान्ति सुरक्षालाई मध्य नजर गर्दै जिल्लाको गौर चपुरसडक खण्डलाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ । ४२ किलोमिटरको गौर चपुरसडक खण्डको १–१ किलोमिटरमा दंगाग्रस्त क्षेत्र निर्धारण गरिएको छ । दंगाग्रस्त क्षेत्रमा चार पाँच जनालाई एक ठाउँमा जम्मा हुन, सभा सम्मेलन गर्न, होहल्ला गर्न, पर्चा पम्पलेट टाँस्नमा प्रतिबन्ध लगाईएको छ ।
त्यस्तै हिजो देखि नै रौतहटमा सेना परिचालन रहेको छ । राति मधेशी दलका नेता कार्यकर्ताहरुले बाहिरबाट आउने कसैलाई पनि गौरमा प्रवेश हुननदिनका लागि ठाउँठाउँमा स्काभेटर लगाएर मूलबाटो नै खनेर सडक अवरुद्ध पारेका थिए । अवरुद्ध सडकलाई आज विहान पुरिएर सञ्चालनमा ल्याईएको सिडिओ मदन भुजेलले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु