वार्तामा बसौ : प्रधानमन्त्री

२०७२ भाद्र ७ गते, सोमबार

काठमाडौं, ७ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत राजनीतिक दल तथा विभिन्न पक्षलाई वार्तामा आउन आह्वान गरेका छन् । प्रधानमन्त्री कोइरालाले आइतबार राति देशवासीका नाममा सन्देश जारी गर्दै शान्तिपूर्ण तवरबाटै आफ्ना मागहरुको समाधान गर्नेतर्फ लाग्न आग्रह गरेका हुन् । उनले मुलुकको भूराजनीतिक संवेदनशीलता र धरातलीय यथार्थतालाई मनन् गर्दै सबैलाई संयमित र एकताबद्ध हुन अपील गरेका हुन् ।
संविधान निर्माण प्रक्रिया द्रुत गतिमा अघि बढिरहेका बेला केही राजनीतिक दलले संविधानसभा नै छाड्ने र बहिस्कार गर्ने क्रम बढाएपछि प्रधानमन्त्री कोइरालाले उनीहरुलाई समेट्ने प्रयासस्वरुप वार्ताको आह्वान गरेका हुन् ।
प्रमुख चार दलको आइतबार बसेको बैठकले प्रधानमन्त्रीमार्फत् असन्तुष्टहरुसँग वार्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा प्रधानमन्त्रीले देशवासीका नाममा सन्देश जारी गर्दै असन्तुष्टहरुलाई वार्तामा आउन आह्वान गरेका हुन् ।
प्रधानमन्त्री कोइरालाले संविधान गतिशील दस्तावेज भएकाले यसलाई चाहेको अवस्थामा परिमार्जन गर्न सकिने भन्दै संविधानसभाबाट संविधान जारी गर्ने प्रक्रियामा सामेल भइरहन र सहयोग गर्न असन्तुष्टहरुसँग आग्रह गरे ।
उनले देशभरबाट प्राप्त सुझावलाई संशोधित मस्यौदामा समेटिएको भन्दै अझै पनि समेट्न सकिने बताएका छन् । प्रधानमन्त्री कोइरालाले संविधानसभा बाहिर रहेका दलहरुलाई पनि आफ्ना मागहरु वार्ताका माध्यमबाट संविधानसभामा शान्तिपूर्ण रुपमा पुर्‍याउन अपील गरेका छन् ।
उनले संघीयता, समावेशीता र समानुपातिक निर्वाचन प्रणालीसहितको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान आफूहरुको प्रतिबद्धता रहेको सन्देशमा उल्लेख गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु