एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

२०७२ श्रावण १० गते, आईतवार

काठमाडौं, १० साउन । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय बल्खुमा दिउँसो बस्ने बैठकमा संविधान लेखन, पार्टीमा विभाग गठन, नियमावली पारित गर्ने लगायतका एजेण्डामा निर्णय हुने बताइएको छ । संविधान निर्माणका लागि नेपाली कांग्रेससँग सहयात्रा गर्ने क्रममा संविधानको शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा छाडेको एमालेमा मस्यौदामाथि जनताको सुझावपछि फेरि पुरानै पार्टी मान्यतामा फर्कन दबाब बढेको छ । यसका लागि केही युवा सदस्यले नेतृत्वलाई दबाब दिन थालेका छन् । यद्यपि, सुझावको संवैधानिक हैसियत नभएकाले मस्यौदामा समेट्नै पर्ने बाध्यतामा संविधानसभा रहेको छैन ।
यसैले केन्द्रीय कमिटी बैठकमा यो विषय निकै चर्को रुपमा उठ्ने बताइएको छ । शनिबार बसेको पोलिटब्यूरो बैठकमा पनि जनताको राय–सुझाव अनुरुप नयाँ संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारीकै व्यवस्था गर्नुपर्नेमा सदस्यहरुले जोड दिएका थिए ।बैठकले जनताको राय–सुझावलाई दलीय सहमतिकै आधारमा मस्यौदामा समेट्दै साउन २५ गतेभित्र संविधान जारी गर्नुपर्नेमा जोड दिएको थियो ।

प्रतिक्रियाहरु