साउन २५ गतेभित्र संविधान जारी गर्ने प्रपन्च

२०७२ श्रावण ९ गते, शनिबार

काठमाडौं,९ साउन । प्रमुख चार राजनीतिक दल साउन २५ गतेभित्र संविधानसभाबाट नयाँ संविधान जारी गर्ने विषयमा कार्यतालिका बनाएर अघि बढ्न सहमत भएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन र दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
जेठ २५ गते १६ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दा उनीहरुले असार मसान्तभित्र संविधान जारी गर्ने जनाएका थिए । साउन २५ भन्दा पछि पार्टी महाधिवेशनका कारण समय दिन नभ्याउने नेपाली कांग्रेसले जनाएपछि २५ गतेलाई समय तोकिएको हो । भदौ १ गतेदेखि नै पार्टी पूर्ण रुपमा महाधिवेशनको तयारीमा जुट्नु पर्ने बैठकमा कांग्रेसका नेताहरुले बताएका थिए ।
त्यसका लागि नयाँ कार्यतालिका बनाएर संविधान निर्माणको प्रक्रिया अघि बढाउन दलका नेताहरुले आजै संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग परामर्श गर्ने भएका छन् । संविधान मस्यौदामा नागरिकको तर्फबाट प्राप्त राय सुझावलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा पनि दलहरुले आजैबाट छलफल चलाउने नेताहरुले बताए । बैठकले जनताबाट राय सुझाव संकलनमा देखाएको उपस्थिति र सुझाव सकारात्मक र उत्साहजनक भएको ठहर गरेका र सकारात्मक कुरा संविधानमा कसरी सम्बोधन गर्न सकिन्छ भन्नेबारे छलफल गरिने नेताहरुले बताएका हुन् ।

प्रतिक्रियाहरु