जोन जिङकाे अभिव्यक्तिप्रति पत्रकार महासंघको कडा अापत्ति

२०७२ असार १८ गते, शुक्रबार

काठमाडौं १८ असार । संयुक्त राष्ट्रसंघअन्तर्गत मानवीय मामिला संयोजन प्रमुख जोन जिङकाे अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले कडा अापत्ति जनाएकाे छ । शुक्रबार एक विज्ञाप्ति जारी गर्दै महासंघ जोन जिङकाे अभिव्यक्तिले नेपाली राष्ट्रियता र स्वाधिनतामाथि हस्तक्षेप भएको भन्दै महासंघले जोनलाई कारवाही गर्न संयुक्त राष्ट्रसंघसँग माग गरेको छ ।
विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले भूकम्प पीडितलाई अखाद्य बस्तु वितरण गरेको विषयमा बाेल्दै जोन जिङले अाफूले वितरण गरेकाे चामल कुहिएकाे नभइ नेपाली सञ्चारमाध्यमले बढाइचढाइँ गरेकाे बताएका थिए । उनले अाफ्नाे सहयाेग फिर्ता गर्ने चेतावनी समेत दिएका थिए ।
महासंघका महासचिव उजीर मगरले हस्ताक्षर गरेकाे विज्ञाप्तिमा भनिएकाे छ, ‘कुहिएका चामलको तस्वीर, भिडियो सहित प्रकाशित/प्रसारित समाचारलाई लिएर जोनले नेपाली सञ्चारजगतलाई ‘ननसेन्स’ शब्दसमेत प्रयोग गरी कूटनीतिक मर्यादा विपरित आक्षेप लगाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन् मात्रै नभई यो नेपाली राष्ट्रियता र स्वाधिनतामाथिको ठाडो हस्तक्षेप हो ।’
पत्रकार महास‌ंघले नेपाल सरकारका निकाय, राष्ट्रिय मानव अधिकार आयोग, व्यवस्थापिका संसदको अनुगमन समितिले समेत डब्लुएफपीबाट अखाद्य चामल, दाल वितरण र अनियमितता भएको भनि कारवाही अघि बढाउने भनिरहेको बेला नेपाल सरकारसँग कारवाहीकाे प्रक्रिया अगाडि बढाउन अाग्रह गरेकाे छ ।

प्रतिक्रियाहरु