कृषिमन्त्रीद्वारा राजिनामा

२०७२ असार १७ गते, बिहीबार

काठमाडौं, १७ असार । राष्ट्रिय धान दिवसका अवसरमा काठमाडौंको मूलपानीमा भएको कार्यक्रममा सहभागी हुँदा महिलाहरुमाथि अभद्र व्यवहार गरेको भन्दै सर्वत्र आलोचना भएपछि कृषिमन्त्री हरिप्रसाद पराजुलीले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशील कोइरालालाई बालुवाटारमा पुगि भेटेर राजीनामा दिएका हुन् । मन्त्री पराजुलीले असार १५ गते काठमाडौंको मूलपानीमा भएको धान रोपाईंमा सहभागी हुँदै त्यहाँका महिलाहरुमाथि अभद्र व्यवहार गरेको भन्दै सर्वत्र आलोचना भएको थियो ।
मन्त्री पराजुलीको व्यवहारलाई लिएर पार्टीभित्रै पनि चर्को आलोचना भएपछि उनी राजीनामा गर्न बाध्य भएका हुन । उनको व्यवहारलाई लिएर व्यवस्थापिका संसद्को बैठकमा समेत चर्को आलोचना भएको थियो । राजीनामा दिनुअघि मन्त्री पराजुलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका थिए ।
एमाले अध्यक्ष ओलीले पनि मन्त्री पराजुलीलाई राजीनामा दिन सुझाव दिएपछि उनले राजीनामा दिएको बताइएको छ ।
मन्त्री पराजुली एमालेका तर्फबाट सरकारमा सहभागी थिए । मन्त्री पराजुली यसअघि पनि एउटा सार्वजनिक कार्यक्रममा सूर्ती माडेर खाएकोमा आलोचित थिए ।

प्रतिक्रियाहरु