अन्तर्राष्ट्रिय दाता सम्मेलन सुरु

२०७२ असार १० गते, बिहीबार

काठमाडौं, १० असार । अन्तर्राष्ट्रिय दाता सम्मेलन काठमाडौंमा सुरु भएको छ । भूकम्पपछिको पुनर्निर्माणका लागि सहयोग आह्वान गर्ने उद्देश्यले दाता सम्मेलन बोलाइएको हो । काठमाडौंको सोल्टी होटलमा शुरु भएको सम्मेलनको प्रधानमन्त्री सुशील कोइरालाले उद्धघटन गरेका छन । सम्मेलनमा प्रधानमन्त्री शुसील कोइराला, अर्थमन्त्री डा. रामशरण महत, परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले स्वागत मन्तव्य दिएका छन् ।
सम्मेलनमा भारत, चीन, जापान, नर्वेलगायत ५५ देशका २ सय ८० जना प्रतिनिधि सहभागी छन् । भारत र चीनसहित सम्मेलनमा सात देशबाट मन्त्रिस्तरीय सहभागी रहेको छ ।
भारतकी विदेशमन्त्री सुष्मा स्वराज, चीनका विदेशमन्त्री वाङ यी, नर्वेका विदेशमन्त्री वर्ग ब्रेन्डे, जापानका विदेश राज्यमन्त्री मिनोरु कियुची सहभागी भएका छन् । दातृ निकायमा विश्व बैंकका उपाध्यक्ष, एशियाली विकास बैंकका अध्यक्ष, जाइकाका अध्यक्ष, संयुक्त राष्ट्रसंघका उपमहासचिव एवम् डिफिडबाट निर्देशक सम्मेलनमा सहभागी छन् । सम्मेलनमा सहभागिताका लागि सरकारले ७० वटा दातृ मुलुक एवम् निकायलाई निमन्त्रणा गरेको थियो । उद्घाटन सत्रपछि विजनेश र टेक्निकल सेसन हुने छन् । विजनेश सेसनमा हुने प्लेनरी सेसनमा दाताबाट सहयोगको घोषणा हुनेछ ।
सम्मेलनस्थल सोल्टी होटलमा उच्च सुरक्षा व्यवस्था मिलाइएको छ । नेपालमा भूकम्पछिको पुनर्निर्माणका लागि भारतले १ खर्ब सहुलियतपूर्ण ऋण र चीनले ६५ अर्ब रुपैयाँ सहयोग गर्ने संकेत गरेका छन् ।
सरकारले भूकम्पपछिको पुनस्र्थापना र पुनर्निर्माणका लागि ६ खर्ब ६९ अर्ब रुपैयाँ आवश्यक पर्ने प्रतिवेदन तयार पारेको छ । सम्मेलनमार्फत् मुुलुकको पुनर्निर्माणका लागि आवश्यक सहयोग जुट्ने विश्वास सरकारले लिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु